कोभिड-१९ ले संचार क्षेत्रमा पारेको असर र अवको पत्रकारिता बारे अन्तरक्रिया सम्पन्न - News site from Nepal

 पर्वत-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को सवैभन्दा ठुलो चपेटामा नेपालको सञ्चार क्षेत्र परेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको कोभीड-१९ ले संचार क्षेत्रमा पारेको असर र अबको पत्रकारिता विषयक अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्टले सञ्चार क्षेत्र सवैभन्दा ठुलो समस्यामा परेको बताउँदै सजग भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले पहिला आफु स्वस्थ्य भएमात्र स्वस्थ्य र सक्रिय रुपमा पत्रकारिता गर्न सकिने बताउँदै स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालन गरेर कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो । उहाँले नेपालका ठुला भनिएका मिडियाहरुले आफ्ना रिपोर्टर र कामदारहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो ब्यापक मात्रामा आउन थालेको भन्दै यसका लागि महासंघले दोस्रो चरणको आन्दोलनको तयारी गरेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले अबको पत्रकारितालाई परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । खाली कुनै एक समुहको भजन गाउँने र विज्ञापन गर्ने पत्रकारिता भन्दा पनि खोजमुलक पत्रकारितामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । अब पनि पुरानै शैलिको पत्रकारिता गर्ने हो भने सञ्चार क्षेत्रमा टिकीरहन समस्या हुने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभीड-१९ले मोफसलका संचार माद्यामहरु सवैभन्दा मारमा परेको बताउँदै यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । पत्रकार र सञ्चार माद्यामको निरन्तरताका लागि राज्यको सहयोग आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र संचालन पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा पर्वत, बागलुङ म्याग्दीका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!