पर्वत- पर्वतको फलेवास नगरपालिकाका सवै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ ।
ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजारहरु निर्माण गर्ने र विपन्न नागरिकहरुको आयआर्जनमा सघाउ पुर्याउने उद्धेश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो । गत आर्थिक वर्षदेखि बजेट बिनीयोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ । यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतीरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष वडा नं. ८ ठानामौला, वडा नं. १ कार्किनेटा र वडा न.ं ४ चुरीमा उद्योग स्थापना शुरु गरिएको छ । प्रत्येक उद्योगका लागि आवश्यक सामाग्रीहरु नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
घरेलु औजार उद्यागमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडाहरु निर्माण हुने छन् । जसले आयातीत बस्तुहरुलाई विस्थापन गरि विपन्न नागरिकहरुको आयआर्जनमा सुधार हुने विश्वास लिईएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
फलेवास नगरपालिकामा १०९ वडा आरन व्यावसाय रहेका छन् । तीनहरुलाई गत वर्षदेखिनै आरन सुधार अभियान अन्तर्गत आधुनिक सामाग्रीहरु नगरपालिकाले वितरण गरिसकेको छ । नगरपालिकाले रु ३६ लाख रुपैया बिनीयोजन परेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताउनुभयो ।
विपन्न नागरिकहरुले निर्वाहमुखि रुपमा संचालन गर्दै आएको आरन पेशालाई आधुनिकिकरण गर्दै नगरपालिका भित्र चाहिने फलाम र तामाका सामानहरु उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं.८ ठानामौलाको नमुना एकीकृत बस्तिवाट उद्योग स्थापनाको अभियान थालिएको हो ।
अभियान थालनी गर्दै नगरप्रमुख शर्माले हरेक ठाउको बिकासको लागि सोही ठाउका निश्चित बर्गले नेतृत्व लिनुपर्नेमा जोड दिँदै असङठित बर्गका श्रमीकको जीवनस्तर उकास्नको लागि नगरपालिकाले नया र नमुना कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।
दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो । यो कार्यक्रमका लागि आगामी वर्षदेखि निरन्तर वजेट बिनीयोजन गरेर उद्योगहरु थप गर्दै लैजाने फलेवासका प्रमुख प्रशासकिय अधिकृत मुक्तिाम रिजालले बतााउनुभयो
ठानामौलामा आयोजित कार्यक्रममा वडा नं ८ ठानामौलाका वडा अध्यक्ष मन बहादुर कुवरले आरान मार्फत वडा र नगरपालिका लाई समेत समृद्ध बनाउने उदेश्यले आरनको शुभारम्भ गरेको जानकारी दिनुभयो । वडा नं ४ मुडिकुवाका वडाअध्यक्ष टिकाराम गौडेलले नगरपालिका प्रत्यक नागरिकको दुख सुखको साथी भएको भन्दै नागरिकले त्यसबाट लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै आरन उद्योगका अभियान संयोजक नेत्र सुनारले आरनले दलित समुदायको आयस्तर उकास्नुका साथै परम्परागत संस्कृति जगेर्ना गर्ने विश्वास व्यक्त गर्नुभयो ।