पर्वत- पर्वतको फलेवास नगरपालिकाले बांझो जमिन सदुपयोग गरि खेती गर्ने ९७ जना कृषकहरुलाई १० लाख ५१ हजार अनुदान रकम प्रदान गरेको छ । बाँझो जमिनमा खेति गरेका कृषकलाई प्रतिरोपनी २ हजारका दरले क्षेत्रफलका आधरमा अनुदान प्रदान गरिएको कृषि शाखा प्रमुख सन्तोष सुवेदीले जानकारी दिए ।
नगरपालिकाका सवै वडामा गरि कुल ५ सय २५.५ रोपनी क्षेत्रफल विगत २ वर्ष पहिले देखि बाझोँ रहेको खेतबारीमा खेति गरि ८५ मेट्रिक टन धान र ५ मेट्रिक टन कोदो उत्पादन भएको छ।
वडा नं.१ मा ११ रोपनी ,२ मा १३ रोपनी, ३ मा २ सय ५० रोपनी, ४ मा ४८ रोपनी, ५ मा ५५ रोपनी, ६ मा ३ रोपनी, ७ मा ३६ रोपनी, ८ मा १७ रोपनी, ९ मा ११.५ रोपनी, १० मा ५० रोपनी र वडा नं. ११ मा ३१ रोपनी गरि ५ सय २५.५ रोपनी बांझो जमीन सदुपयोग गरि कृषकहरुले धान तथा कोदो रोपेको सुवेदीले बताए ।
नगरले कृषक मैत्री कार्यक्रम गरेको र बांझो जमिन लाई हराभरा बनाइ आयातलाइ प्रतिस्थापन गर्ने सोचका साथ कार्यक्रम अगाडि बढाएको नगरप्रमुख पदमपाणी शर्माले बताएका छन् । श्रमिक कल्याणकारी कोष, कृषि ॠणमा व्याज अनुदान जस्ता कार्यक्रम संचालन गरिएको उनले बताए । उत्पादनमा जोड दिन कृषकहरुलाई प्रोत्साहन र सम्मानका कार्य गरिएको शर्माले बताए ।
फलेवास नगरपालिकाको कार्यालयबाट गरिएको बाली कटानी सर्वेक्षणमा प्रतिहेक्टर २।७ मेट्रिक टन देखि ४।८ मेट्रिन सम्म उत्पादन भएको पाईएको छ । बाँझो जमिनमा गरिएको खेतिमा अन्य भन्दा १८ प्रतिशतले बढी पाईएको छ । सिचाईको राम्रो सुविधा भएको, उन्नत विउ, मल जल राम्रो भएको र क्लिन फलेवास ग्रिन फलेवास महाअभियान अनुसार अनउत्पादक रुख काटछाटँ गरेको स्थानमा राम्रो उत्पादन भएको पाईएको छ भने अझै ओसेपिलो र अनुत्पादक रुख काटछाटँ नगरिएको स्थानमा उत्पादन कम पाईएको छ। मौसमी अनुकुलता, अनुत्पादक रुख काटछाटँ गरि खेति गर्नाले नगरपालिकाको समग्र धान उत्पादन १२ प्रतिशत र उत्पादकत्व ९।८५ प्रतिशतले बढेको हो । गत आ व ०७६।०७७ मा कुल १९१३ हेक्टर क्षेत्रफलमा ५४३३ मेट्रिक टन धान उत्पादन र उत्पादकत्व २।८४ थियो भने यस आ व २०७७।०७८ मा क्षेत्रफल १ हजार ९५५ हेक्टरमा ६ हजार ९६ मेट्रिक टन धान उत्पादन र उत्पादकत्व ३।१२ मेट्रिक टन/हेक्टर रहेको उनले बताए ।
त्यसै गरि कोदो यस आ व २०७७।०७८ मा १ हजार ७७८ हेक्टरमा २ हजार ४०० मेट्रिकटन उपादन भएको छ। नोवल कोरोना भाईरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा हुन सक्ने सम्भावित खाद्य सङ्कट लाई मध्यनजर गरी फलेवास नगरपालिका नगरकार्यपालिकाले खाद्य सुरक्षाका लागि बाँझो जमिनमा खाद्यान्न उत्पादनका लागि प्रोत्साहन कार्यक्रम तयार गरेको थियो । गैरीखेत टारी, टारीखेत बारी अनि बारी खरबारी र झाडी बन्दै गरेको अवस्थामा बाँझो जमिनलाई हराभरा बनाउन नगरपालिकामा बिगत २ वर्ष पहिले देखि बाझो रहेको जमिनमा खेति गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गत जेठमा सुचना प्रकाशन गरि नगरका कृषकहरुलाई जानकारी गराईएको थियो। कृषकहरुले सम्बन्धित टोलबाट खेतबारी २ बर्ष पहिले देखि बाझो रहेको प्रमाणित गरी नागरिकताको प्रतिलिपि, खेति गरिएको जग्गाको लालपुर्जा वा यदि भाडामा लिएको हकमा करार सम्झौता पत्र सहित वडा कार्यालयमा निवेदन दिएको र रितपुर्वक दर्ता भएका निवेदनको वडा कार्यालयबाट जनप्रतिनिधि, वडा सचिव र वडामा कार्यारत प्राबिधिक बाट सघन अनुगमन गरी नगरपालिकामा पेश गरिएको थियो। नगरपालिकामा पेश गरिएको निवेदनको नगरपालिका कृषि विकास शाखाबाट पुन अनुगमन तथा बाली कटानि सर्वेक्षण गरिएको थियो।