पर्वतमा यस वर्ष धान उत्पादन सात प्रतिशत बढ्ने - News site from Nepal
पर्वतमा यस वर्ष धान उत्पादन सात प्रतिशत बढ्ने

पर्वत- पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ ।
यस वर्ष गएको जेठ अन्तिम सातादेखिनै निरन्तर वर्षा परेकाले ७ प्रतिशत भन्दा बढिले उत्पादन बृद्धि हुने भएको हो । रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु, हाबा हुरी, रोग किरा तथा असिना नपर्नु जस्ता अनुकुल समय परेकाले यस वर्ष धान उत्पादन बढ्ने भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
गत वर्ष भने रोप्ने बेला लामो समय परेको खडेरी, बाला लाग्ने बेला कालोपोकेको प्रभाव र थन्क्याउने बेला आएको असिना पानीका कारण पर्वतमा दश प्रतिशतले धान उत्पादन घटेको थियो ।
यस वर्ष धानखेतीका लागि दशककै राम्रो मौसम परेको केन्द्रले जनाएको छ । पर्वतमा मुख्य बालीको रुपमा चिनिने धान बालीको उत्पादन बढेपछि चामल आयात समेत घट्ने भएको छ । पर्वतमा ९ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अघिल्लो वर्ष २६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर २७ हजार ९ सय १६ मेट्रिक टन भन्दा बढि उत्पादन हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष ०७६/७७ मा भने भने प्रतिकुल मौसमका कारण घटेर साढे २३ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन भएको थियो कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।
पर्वतको जमिनमा औषतमा प्रति हेक्टर २ दशमलब ९१ प्रतिशत मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा स्थानीय छेमरोङ, जेठोबुढो, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायतका धान खेती हुँदै आएको छ । यसवर्ष कटुवाचौपारी, कुर्घा, पाङ, विहादी, र पैंयु क्षेत्रमा उत्पादन बढ्ने भएको छ । बाह्रैमास सिंचाई हुने क्षेत्रमा भन्दा वर्षाको भरमा खेतीपाती हुने ठाउँमा यसवर्ष उत्पादन बढेको कृषकहरुले बताएका छन् । यस वर्ष सोचेभन्दा पनि बढि धान फल्यो पर्वतको ठुलीपोखरीका कृषक दिनेश सापकोटाले भन्नुभयोे-‘गत वर्ष ३ मुरी भएको ठाउँमा अहिले १० मुरी उत्पादन भयो ।’
यसैबीच पर्वतका कृषकहरुलाई यतिवेला वालीनाली थन्क्याउन भ्याईनभ्याई भएको छ । कृषकहरु विहानैदेखि बेलुकासम्म खेतवारीमै व्यस्त हुन थालेका छन् । थन्क्याउने बेलामा पनि मौसम सफा भएका कारण कृषकहरु विहानैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त देखिएका छन् ।
उच्च पहाडी भेग र छिटो रोपाई भएका ठाउँका कृषकले धान थन्क्याईसकेका छन् भने मुख्य धान पकेट क्षेत्रमा भने काट्न शुरु भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका विहादी, पैंयु, महाशीला र जलजला गाउँपालिकाका अधिकांस कृषकले धानवाली भित्र्याईसकेका छन् भने फलेवास, कुश्मा र मोदीमा यतिवेला धान काट्न र झाट्न भ्याईनभ्याई भएको छ
नेपालका विभिन्न जिल्लामा रासायनिक मलको अभावका कारण धानवाली प्रभावित भएपनि पर्वतमा भने मलको आवश्यक प्रवन्ध मिलाएर कृषकहरुलाई समयमै उपलव्ध गराईएकाले समस्या नभएको पनि बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!