पर्वत-१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट कार्य समाजमा उत्कृष्ट कार्य गरेका हरेक वडाका १।१ जना गरि ११ जना स्वयंसेवीकाहरुलाई नगद,दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
फलेवास नगरपालिकामा ११ वडामा ९७ जना स्वयंसेवीका रहेकोमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा ११ जनालाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले जानकारी दिनुभयो । सम्मान कार्यले उहाँहरुलाई आफ्नो कार्यप्रती थप हौसला र उजागर मिल्ने बताउदै सम्मान कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले अहोरात्र स्वास्थ्य सेवामा खटिएका महिला स्वयंसेवीकाहरुलाई प्रोत्साहन गर्न र कार्यमा थप प्रेरणा मिलोस भन्ने हेतुले उहाँहरुलाई सम्मान गरिएको बताउनुभयो ।
निस्वार्थ सेवाको भावले काम गर्ने सबै स्वयंसेवीकहरुलाई उहाँहरुको कार्यको कदर गर्दै निरन्तर सम्मान गरिने उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले महिला स्वयंसेवीकाहरुले निशुल्क सेवा गरि समाजमा अतुलनीय भुमिका निर्वाह गरेको बताउनुभयो । अरुलाई सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म भएको बताउदै आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह उहाँले गर्नुभयो । कार्यक्रममा बोल्दै नगरका प्रवक्ता तथा वडा नं. ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले नगरका सबै स्वयंसेवीकाहरुलाई आवश्यक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समाजमा महिला स्वयंसेवीकाहरुले स्वस्थ्यको क्षेत्रमा सकारात्मक परिवर्तन कार्य गरेको बताउदै उहाँहरुलाई नगरले सधैं सम्मान गर्ने प्रवक्ता गौडेलले बताउनुभयो । कार्यक्रममा स्वयंसेवीको तर्फबाट लक्ष्मिदेवी पौडेल बोल्नुभएको थियो । नगरप्रमुख शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मान कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले गर्नुभएको थियोे ।