पर्वत- पर्वतको पैंयु गाउँपालिकामा १० शैयाको अस्पताल बन्ने भएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत पैंयु गाउँपालिकाको वडा नं. ४ हुवासमा १० शैयाको अस्पताल शिलन्यास गरिएको हो । अस्पतालको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले शिलन्यास गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष तिवारीले पैंयुवासीको लामो समयदेखिको सपना र प्रमुख आवश्यकताको रुपमा रहेको अस्पताल अब पुरा हुने विश्वास व्यक्त गर्नुभयो । सुविधा सम्पन्न अस्पतालको अभावमा यस क्षेत्रका नागरिहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था समेत आएको स्मरण गर्दै अध्यक्ष तिवारीले अब भने यस क्षेत्रका नागरिहरुलाई ठुलो राहत मिल्ने बताउनुभयो । दक्षिण पर्वतमा सुविधा सम्पन्न अस्पताल नहुँदा पैंयु, विहादी र महाशीला गाउँपालिकाका बासिन्दाहरुले सास्ती खेप्दै आएका थिए ।
शिलन्यास गरिएको अस्पताल निर्धारित समयमै सम्पन्न गर्नका लागि पालिकाले आवश्यक पहल गर्ने बताँदै अध्यक्ष तिवारीले गुणस्तरीय सेवा प्रवाहका लागि पालिका समेत लगानी गर्न तयार रहेको बताउनुभयो । उक्त अस्पतालवाट पैंयुवासीले मात्र नभई दक्षिण क्षेत्रका सवै पालिकाका वासिन्दाहरु लाभान्वित हुने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतकी उपप्रमुख यामकुमारी राना, र्पैयु गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङ, प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, वडा नं. ४ का वडा अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, नेकपाका नेता मित्रलाल बस्याल, नेपाली काँग्रेसका नेता गिरीराज गौतम लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत स्वास्थ्य संयोजक पुण्य न्यौपानेले गर्नुभएको थियो ।