पर्वत–स्रोह श्राद्धका अवसरमा पर्वतको मोदीबेनीमा नृसिँह मन्दिर संरक्षण तथा पर्यटकिय विकास समितिको आयोजनामा सञ्चालित पितृ महायज्ञ तथा गरुडपूराणमा उल्लेख्य रुपमा भक्तजनहरुको उपस्थिती रहेको छ ।
मोदीबेनीमा भैरहेको यज्ञमा हिजो फलेवास नगरपालिका ६ देबिस्थान निवासी ८६ वर्षिय जेष्ठ नागरिक ताराप्रसाद भुसालले १६ दिन सम्म एकजना व्राह्मणको खर्च व्यहोर्ने र १६ दिनको पूजा व्यवस्थापनका लागि दैनिक ५ हजारको दरले लाग्ने खर्च प्रदान गर्नुभएको छ ।
यस्तै फलेवास ३ पोखराचौरमा रहेको सृजनशिल आयआर्जन समूहले ५ हजार ५ रुपैयाँ, २१ हजार वत्ती, २१ माना चामल दान गर्नुभएको छ । समूहका प्रतिनिधी माया भुसाल र जमूना भुसालले मोदीबेनीमा आएर दान गर्नुभएको हो ।
हिजो मोदीबेनीमा ५ जनाले श्राद्ध गरेका छन् । घाटमा दिवंगतको आत्माको नाममा वत्ती बाल्ने, दैनिक गंगा आरती, बेलपत्र अर्पण लगायतका कार्यक्रम भैरहेको छ । गरुडपूराण, श्राद्ध, कथा प्रवचन, भजनकिर्तन र अन्य धार्मिक अनुष्ठान भैरहेका छन् । पर्वत जिल्ला मात्रै नभई मुल थलो पर्वत भई हाल पोखरा, चितवन, बाँके, बर्दिया, नवलपरासी, वुटवल, भैरहवा, काठमाण्डौमा बसोबास गर्नेहरु पनि पितृको श्राद्धका लागि मोदीबेनीमा आएका छन् ।
मोदीबेनीमा हरेक दिन २१ हजार वत्ती वालिएको अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । गाउँ गाउँबाट पितृको संझनामा सर्वसाधारणहरुले ज्योती ल्याएर दिने गरेका छन् । मोदीबेनीमा श्राद्ध गर्दा पितृहरुको उद्धार हुने जनविश्वास रहेको छ ।






