पर्वत, ९ पुस : आठौँ पर्वत महोत्सव आदेखि शुरु हुँदै छ । पर्वत जिल्लाको औद्योगिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित आठौ पर्वत महोत्सव आजदेखि शुरु हुन लागेको हो ।
सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा हुने महोत्सव दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस अघि विहान साढे १० बजे लोकतान्त्रिक चोकवाट शान्ति र सद्भाव र्याली शुरु हुने छ । र्यालीमा जिल्लास्थित शैक्षिक संघ संस्थाका शिक्षक तथा विद्यार्थी, खेलाडी, सामाजिक संघ संस्था, जातीय पहिचान झल्कने विभिन्न समुह, उद्योगी, व्यावसायी र सुरक्षा निकायलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ । पन्चेवाजा, झाकी,र्याली, भजन, लाखे, सोरठी, यानीमाया, सुनिमाया लगायतका सांस्कृतिक झलक र पोशाक सहित र्याली शुरु हुने भएको छ । र्याली भन्दा अगाडी बजारका प्रत्येक घर अगाडि कलश, घडा र गाग्री सहित सजाईने छ ।
लोकतान्त्रिक चोकवाट शुरु भएको र्याली पुरानो चौकीतर्फवाट शिवालय चोक पुग्ने छ । शिवालयचोकवाट पुनः फर्केर प्रगति चोक, मेलमिलापचोक हुँदै, बडागाउँ बजारवाट कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने रुट तय गरिएको छ ।
सद्भाव र्याली कार्यक्रम स्थल पुगेलगत्तै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुहुनेछ । त्यसपछि केहि अतिथिहरुको भाषण, केहि कलाकारहरुको प्रस्तुती र विद्यार्थीहरुको सो प्रस्तुती समेत रहने छ । आजका लागि कलाकार सरस्वती लामिछाने, शिव शर्मा, सुजन बराईली, कृष्ण अखेली, सुदिप क्षेत्री, सन्तोष सुवेदी लगायत समेत प्रस्तुती रहन सक्ने बताईएको छ ।
सद्भाव र्यालीमा सहभागिहरुको मुल्यांकन गरी पुरस्कार तथा सम्मानको कार्यक्रम समेत राखिएको मुल संयोजक ठाकुर वि पौडेलले जानकारी दिनुभयो । आजको कार्यक्रम बेलुका ८ बजेसम्म रहने भएको छ भने भोलीदेखि नियमित रुपमा राती अबेरसम्म संचालन गरिने आयोजकले जनाएको छ ।






