✍️. राजकुमार निरञ्जन
अल्जेब्रा ? थेवरम ? भेक्टर ? ईन्टिजर ? डेरिभेशन ? यी शब्द सुन्दा त बित्तिकै कतिपय विद्यार्थीलाई रिङ्गटा लाईहाल्छ । ” बाफ्रे , म्याथ त सारो गार्हो पो हुन्छ त बाई ” भन्ने वाक्य प्रायः विद्यार्थिले भनेको निकै सुनिन्छ । अधिकांश बिद्यार्थिले ” यो गणित भन्नी बिषय हाम्रो जिन्दगिमा कहिल्यै काम लाउन्न , किन पढ्न पर्दो हो ? ” भनेर झर्को मान्दै भनेको पनि प्रशस्तै सुनिन्छ । उता गणितका शिक्षकले पनि ” यी केटाकेटिले म्याथ बुझ्दैबुझ्दैनन ” भनेर भनेको पटक पटक सुनिन्छ । आखिर गणित नामको बिषयमा कुन चाहिँ त्यस्तो “भाईरस” छ जसले पुरै विद्यार्थिलाई र शिक्षकलाई हायलकायल बनाईदिन्छ ? कुन चाहिँ त्यस्तो “साईनाईड” छ जसले विद्यार्थिको दिमागलाई नाम सुन्दा बित्तिकै मराणासन्न बनाईदिन्छ ? के गणित साच्चै गार्हो हो त ? के विद्यार्थिले भने जस्तै गणितको सम्बन्ध जिवनसङ्ग छैन त ? आउनुहोस यी प्रश्नलाई तथ्यगत रुपमा केलाएर हेरौँ ।
मानव ईतिहासको आदिम कालको बिकासक्रम पछि मान्छेहरु बिस्तारै समुहमा बसेर खेतिपाती गर्न थाले । बिकासक्रमको यहि समयमा नै मान्छेहरु समकालीन समयको सबैभन्दा चेतनशिल मान्छेहरु भएका थिए र त्यही कालबाट नै मान्छेहरुले हरेक कुराको लेखाजोखा गर्न थाले । यहि समयबाट नै अप्रत्यक्ष रुपमा गणितको जन्म भएको थियो । अझ गणितिय चेतनालाई उन्नत बनाउन मान्छेको मस्तिष्कको उत्पन्नमा हुने प्रश्नले अहम भुमिका पनि खेल्यो र उद्वोलित पनि पार्यो । मान्छेहरुले किन र कसरी भन्ने प्रश्नको खोज गर्ने क्रममा गणितले सबैभन्दा पहिला जन्म लियो ।
ग्रीकका दार्शनिकहरुले गणितिय रुपमा हरेक कुरालाई व्याख्या गर्न थाले जसले गर्दा ग्रीकको सभ्यताको बिकास भयो । ईतिहासलाई फर्केर हेर्दा जुन देशले गणितलाई आत्मसात गर्यो त्यो देशले बिकासको मामिलामा चाडो भड्को मारेको देखिन्छ । गणितले आकाशिय पिण्डको खोजलाई सघायो साथै ईतिहासका कालखण्डमा भएका घटनाक्रमको सत्यतथ्य पहिलाउन महत्त्वपूर्ण योगदान दियो । भाग्यको अनुमान अथवा भविष्यवाणी गर्न पनि गणितको नै सहयोग लिईयो अर्थात आध्यात्मिक विश्वासलाई स्थापित गराउन पनि गणितलाई जोडतोडले प्रयोग गरियो ।
पछिल्लोक्रममा विश्वमा भएका अद्भुत उपलब्धिहरुलाई साकार पार्न पनि गणितको महत्त्वपूर्ण देन छ त्यसैले अहिले गणितको महत्त्व पनि ह्वात्तै चुलिएको छ । अहिलेको परिपेक्षमा प्रत्येक विद्यालयमा गणितलाई सरल तवरबाट विद्यार्थिलाई झर्को नलाग्ने किसिमले सिकाउन जरुरी पनि छ । अहिले कम्प्युटरको ज्ञान अनिवार्य भएको छ । मान्छेहरु बढी भन्दा बढी विज्ञानलाई आत्मसात गर्न अग्रसर भएका छन । कम्प्युटरको ज्ञानलाई र विज्ञानलाई आत्मसाथ गर्न पनि गणितलाई अङ्गाल्न पर्ने सशक्त जरुरी देखिन्छ । मान्छेले समुन्द्रको गहिराई देखि आकाशको गहिराई सम्मको खोज गर्यो जुन खोज गर्न गणितले नजिकबाट सघायो त्यसैले पनि समकालीन समयमा विद्यार्थिलाई गणितसङ्ग सामिप्यता कायम गर्ने लालसा जगाईदिनुपर्ने जरुरी छ ।
स्टेफेन्सन हकिङ्ग देखि अल्बर्ट आईन्स्टाईनले गरेको ब्रह्माण्डभित्रको खोज पनि गणितले गर्दा नै सम्भव भएको हो । आर्किमिडिज र युक्लिड जस्ता गणितीज्ञले खोजेको गणितिय खोजले पनि नयाँ आयामहरुको ढोका खोलिदिएको थियो । अहिले कृतिम बौद्धिकता र रोबर्टसले विश्वलाई नयाँ आयाममा प्रवेश गरेको छ । यो आयामको सम्भावना पनि गणितले नै महत्त्वपूर्ण भुमिका खेलेको हो त्यसकारण गणितले हाम्रो जिवन सञ्चालनलाई सहज गराउने देखि ब्रह्माण्डिय रहस्यको उद्धाटन गर्न महत्त्वपूर्ण योगदान दिएको पाईन्छ ।
अब यतिको महत्त्वपूर्ण विषयलाई विद्यालय , शिक्षक र विद्यार्थिले नजर अन्दाज गर्नै हुन्न । त्यसैले अहिले गणितलाई प्रमुख महत्वको साथ सिकाउनु पर्ने वा लिनुपर्ने जरुरत छ । अब गर्ने के त ? अब गणितलाई सबै विद्यार्थीले साथी बनाउने भावको बिकास गराउने कसरी त ? गणित पनि सजिलो बिषय हो भनेर विद्यार्थिको दिमागमा पार्ने कसरी त ? सबैभन्दा पहिला यी प्रश्नहरुको उत्तर खोज्नुपर्ने देखिन्छ ।
गणित आफैमा गार्हो बिषय होईन बरु गणितलाई गणित सम्बन्धिको ” नकारात्मक भाष्य ” ले गार्हो बनाएको हो । सारा विद्यार्थी र सारा शिक्षकहरुले गणित ” अप्ठ्यारो बिषय हो ” भनेर गणित साच्चै नै अप्ठ्यारो जस्तो लागेको हो त्यसकारण पहिला गणित सम्बन्धि खडा गरिएको नकारात्मक भाष्यलाई सामान्य बनाउनु जरुरी छ । पछिल्लो समय गणित पढ्ने बिषय हो भनेर भनेको , सुनेको र ब्याख्या गरेको पाईन्छ तर गणित पढ्ने विषय भन्दा पनि अभ्यास गर्ने बिषय हो त्यसकारण गणितलाई अभ्यास गर्ने बिषयमा बुझ्नुपर्ने जरुरत देखिन्छ । पढ्नु र अभ्यास गर्नुमा धेरै फरक छ । सामान्यतया पढ्नु भनेको अवधारणा लिनु हो तर अभ्यास गर्नु भनेको निरन्तर मेहनतका साथ निपुण हुँदै समाधान खोज्ने बाटोमा हिड्नु हो । गणित निरन्तर प्रयास अथवा अभ्यास गर्ने बिषय हो । गणितको अभ्यास गरेमा मात्रै हामिले कम्युटरका “लोजिक” देखि ब्रह्माण्डका रहस्यहरु उद्घाटन गर्न सक्छौ ।
अहिलेको युग ” अलगोरिदम ” को हो । अल्गोरिदम पनि गणितिय सुत्रबाट नै निर्मित हुन्छन त्यसैले पनि हामिले गणितलाई बेवास्ता गर्नुहुन्न । गणित अध्यापन गर्दा गणितका हरेक समस्यालाई न्युनतम रुपमा मान्छेको दैनिकीसङ्गको सम्बन्धका बारेमा स्पष्ट पार्न सकेमा मात्रै पनि विद्यार्थिले आधि गणितीय समस्या बुझ्न सक्छन तर हाम्रा सिकाईहरु सुत्रको रटानमा केन्द्रित भएकाले गर्दा हाम्रा विद्यार्थिलाई गणित महाभारत लागेको हो । गणितको जति समीप रहन सक्यो त्यति गणित सजिलो लाग्छ र यस्तो वातावरण सिर्जना गर्न शिक्षकको महत्त्वपूर्ण भुमिका हुन्छ । विद्यार्थी आफै जिज्ञासु भएमा पनि गणितका गाठाँहरु फुकाउन त्यति मुश्किल पर्दैन त्यसैले पनि आजको समयमा गणितका शिक्षकको पहिलो काम भनेको विद्यार्थीमा गणितिय जिज्ञासा पैदा गर्नु हो ।
मेडिकल विज्ञानदेखि अणु प्रमाणुको संरचनासम्म गणितको उपयोग राम्रोसङ्ग हुन्छ । ब्यवस्थापनको बिषयमा पनि गणितको उपयोग राम्रै हुन्छ । गणितले नछुने बिषय शायदै कम नै होलान हामिले गणितको उपयोग शून्य देख्छौ र आफ्ना बालबच्चालाई गणित सिकाउन प्रयात्न गर्दैनौ । गणित सर्वब्यापी बिषय हो भन्दा पनि फरक नपर्ला त्यसैले आजको दिनमा गणितमा विद्यार्थिलाई निपुर्ण बनाउनु जरुरी छ ।
गणित अध्यानमा अर्को महत्वपूर्ण कुरा भनेको ” भिजुअलाईजेशन ” हो अर्थात समस्या समाधान गर्दै गर्दा ती समस्यालाई विद्यार्थिले बुझ्ने गरि यथार्थमा वा शब्दमा प्रस्तुत गर्नु हो । जस्तै ज्यामितिय समस्या पढाउदा त्यससम्बन्धिका बस्तु वा आकार देखाएर पढाउनु अति उपलब्धिमुलक मानिन्छ । त्यसकारण आजको दिनमा हरेक विद्यालयमा ” भिजुअलाईजेशन ” विधि मार्फत गणितको अध्यापन गराउनु जरुरी छ ।
यथार्थमा गणित सजिलो बिषय हो र सरल तरिकाले पढाउन सकिने बिषय पनि हो तर गणित सम्बन्धिको सरलतम मान्यतालाई स्थापित गराउनको लागि गणित बिषयलाई लिएर खडा गरिएको ” नकारात्मक भाष्य ” मेट्न जरुरी छ । नकारात्मक भाष्य मेट्नको लागि शिक्षक र विद्यार्थी निरन्तर रुपमा सकारात्मक भएर लाग्नु पर्छ भने अभिभावकले पनि यस्ता कार्यलाई प्रोत्साहन गर्नुपर्छ । विद्यार्थिलाई गणितमा उत्कृष्ट बनाउन सकेमा मात्र आजको युग सान्दर्भिक विद्या दिन सकिन्छ र युग सान्दर्भिक विद्यार्थी उत्पादन गर्न सकिन्छ ।






