पर्वत– समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।
भोली पुस ९ गतेदेखि १९ गतेसम्म हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको हो । महोत्सव मुल आयोजकले मंगलवार साँझ पत्रकार सम्मेलन गरी महोत्सवको सवै तयारी पुरा भएको जानकारी दिएको हो । महोत्सव भोली बुधवार दिउँसो १ बजे उद्घाटन हुने भएको छ । त्यस अघि विहान ११ बजेदेखि शान्ति र सद्भाव र्याली प्रदर्शन गरिने भएको छ । सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकवाट शुरु हुने र्याली पुरानो चौकी, शिवालय चोक, प्रगति चोक हुँदै महोत्सव स्थल बडागाउँ चौरमा पुगेर सभामा परिणत हुने छ ।

महोत्सवका सम्पुर्ण तयारी पुरा भएको र अब आयोजक दर्शकहरुको पर्खाइमा रहेको मुल संयोजक ठाकुर वि पौडेलले जानकारी दिनुभयो । महोत्सव स्थलमा स्टेज, स्टल, साजसज्जा, प्रवेशद्धार निर्माण सकिएको छ भने स्टलहरुमा ब्यावसायी आउने क्रम शुरु भैरहेको छ । महोत्सवका कारण कुश्मामा चहलपहल समेत बढिसकेको छ ।
महोत्सवको मख्य प्रायोजकमा कुश्मा बलेवा यान्त्रिक पुल रहेको छ । ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिईएको छ । सुन्तला, लप्सी लगायत कृषि प्रदर्शनी र विक्रिका स्टलहरु समेत रहने भएका छन् ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता, सवा दुई लाख राशीको गण्डकी प्रदेशका अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव स्थलमा आकर्षक सेल्फी पोईन्ट, टिकटक सेन्टर, बुद्धको मुर्ति र लोपोन्मुख डाईनोसरको आकृति समेत राखिने भएको छ ।







