फलेवासमा ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु - News site from Nepal
फलेवासमा ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु

पर्वत, ७ जेठ ः कृषकहरुलाई व्यावसायिक फलफुल खेतीमा आकर्षित गर्न पर्वतको फलेवास नगरपालिकाले ‘विरुवा हाम्रो फल तपाईको कार्यक्रम’ शुरु गरेको छ ।

ब्यावसायिक रुपमा फलफुल खेती गर्न इच्छुक कृषकहरुलाई आवश्यकता अनुसार विरुवा उपलव्ध गराउन नगरपालिकाले यस्तो कार्यक्रम संचालन गरेको हो । नगरका ११ वटै वडाको हाबापानी र भौगोलिक अवस्था अनुसारका फलफुलका विरुवा कृषकले माग गर्न सक्ने भएका छन् ।

फलेवासमा आप, लिचि, सुन्तला, कागती, जुनार, एभोगाडो, अम्वा, अंगुर, ड्रागन फ्रुट, केरा लगायतका फलफुलको उत्पादन हुँदै आएको छ । राम्रो उत्पादन हुने फलफुललाई व्यावसायिक रुपमा खेती गरेर कृषक स्वरोजगार बनुन र नगरपालिकालाई नै फलफुलमा आत्मनिर्भर बनाउनका लागि यस्तो कार्यक्रम संचालन गरिएको नगरप्रमुख गंगाधार तिवारीले जानकारी दिनुभयो ।

जुन वडामा जुन फलफुल बढि उत्पादन हुन्छ त्यहि बिस्तार गर्न सकेमा कृषकहरु लाभान्वित हुने उहाँको भनाई छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा विरुवाहरु उपलव्ध गराउने छ भने कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने नगरप्रमुख तिवारीले बताउनुभयो ।

ब्यावसायिक रुपमा लागेका कृषक, कृषि समुह, सहकारी वा फार्मले न्यूनतम दश वटा भन्दा बढि विरुवा माग गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । दश वटा भन्दा कम संख्यामा लगाउने कृषकले व्यावसायिक रुपमा प्रगति हासिल नगर्ने भएकाले धेरैभन्दा धेरै संख्यामा बिरुवा लगाउन भन्ने नगरको उद्धेश्य रहेको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाले पुरै अनुदानमा दिँदा कृषकहरुले राम्रोसँग रेखदेख नगर्ने भएकाले नगरपालिका र कृषकको बराबर लगानी गराउन खोजीएको उपप्रमुख क्षेत्रीले बताउनुभयो । युवा शक्तिको बढ्दो पलायन, बसाईसराई, बाँदर आतंक, जनशक्तिको अभाव लगायतका कारण बढ्दै गएको बाँझो जमिनको सदुपयोग गर्नका लागि पनि फलफुल खेती विस्तारमा नगरले जोड दिएको हो । कृषकहरुलाई विरुवा सँगै अन्य प्राविधिक सहयोग पनि नगरले गर्ने भएको छ ।

फलेवास नगरपालिकाको वडा नं. १० कुर्घा र वडा नं. ११ पाङ्गराङ्गमा व्यावासयिक सुन्तला खेती हुँदै आएको छ । यी वडावाट बार्षिक रु. ४ करोड भन्दा बढिको सुन्तला निर्यात हुने गरेको छ । यि दुई वडामा सुन्तला खेतीको राम्रो सम्भावना रहेको छ भने खानीगाउँ, मुडिकुवा, देविस्थानमा आप, लिचि, कटहर, एभोगार्डो, कागती, केरा लगायतका फलफुल प्रसस्त मात्रामा उत्पादन गर्न सकिने फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ।

कृषकको माग संख्या र प्राथमिकताका आधारमा विरुवाहरु उपलब्ध गराईने उहाँले बताउनुभयो । यसका लागि कृषक वा कृषि संंस्थाले नागरिकता, फार्म दर्ताको प्रमाणपत्र, जग्गाको लालपुर्जा, सम्वन्धित वडा कार्यालयको सिफारीस र न्यूनतम १० वटा विरुवा भन्दा बढि माग गरेको निवेदन बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!