मंसिर –
म साधरण छु
म त गणतान्त्रिक नेपालको
सच्चा नागरिक!
कोट र पोशाकको गर्हुँगो शिष्टचारले
मेरो हृदय थिच्दछ,
बलात्कृत निर्मलाका आँसुले
मेरो परेला भिज्दछ,
बोक्रे मिजास र फोस्रे हासोहरु
घिनलाग्छन् मलाई,
देशको प्रजातन्त्र र लोकतन्त्रले
सबेरै ठुङ्दछन् मलाई,
तर नाङ्गो महलमा
रङ्गीन चश्मा लाएर
उपदेश बेच्दै बसेको छ
मूर्ति जस्तै मेरो
जिउदो सरकार!
अनि त्यही सरकारको साँची
बसेको छ राष्ट्रपतिज्यूको माहात्म्य।
लाग्छ म नाटक हेरिरहेको छु,
कता-कता आफ्नै कथा
अस्पष्ट र अग्राह्य
घटिरहेझै लाग्छन्,
क्षितिज भित्र हराईरहेझै
देख्छु आफ्नो सपना,
विश्वलाई मातृभूमि प्रेम सिकाउने
मेरो स्वाभिमान
आज न्यायका निम्ति अञ्जुलीमा
भिक मागिरहेछ!
नलेखूँ त के लेखूँ??
आफ्नै हँस्सी उडाउने
यी वाक्क दिक्कहरु!!
यहांका
चर्चाहरु गाढा र रसिला हुन्छन्,
यहांका
प्रश्नहरु एकोहोरो हुन्छन्,
सुन्नेहरु भुलिदिन्छन्
नसुन्नेहरु सुने जस्तै गरिदिन्छन्,
जब प्रश्न माथि प्रत्युत्तर गर्दैनौ हामी
र कल्पनाका नाममा फर्फराइरहन्छौं,
‘न्याय’ एउटा
विशाल वृत्तमा विलाएको विन्दु जस्तो लाग्छ!!