पैयूँ गाउँपालिकाका कर्मचारीद्वारा ३ दिनको तलब राहत सहयोग - News site from Nepal
पैयूँ गाउँपालिकाका कर्मचारीद्वारा ३ दिनको तलब राहत सहयोग

पर्वत – चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोको कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति पर्वतको पैयूँ गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आफ्नो ३ दिनको तलब बराबरको रकम नेपाल सरकारको राहत कोषमा दिने निर्णय गरेका हुन्।
भोटेकोशी तटीय क्षेत्रमा भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाउनुका साथै ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्ने निर्णय गरेका हुन्।
पैयूँ गाउँपालिकाका इन्जिनियर प्रमुख अनिल कमल न्यौपानेले प्राकृतिक विपद्को समयमा सबैले आ-आफ्नो ठाउँबाट हातेमालो गर्नु मानवीय धर्म भएको बताउनुभयो।
“भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षति र प्रभावित नागरिकको पीडा अत्यन्तै हृदयविदारक छ। विपद्को यो कठिन परिस्थितिमा भौतिक तथा आर्थिक रूपमा सघाउनु हाम्रो दायित्व हो। पैयूँ गाउँपालिकाका सम्पूर्ण कर्मचारी साथीहरूले आफ्नो ३ दिनको तलब सहयोग गरेर यो सानो प्रयास सुरु गरेका छौँ।
सङ्कलित रकमले बाढीपीडितको राहत र पुनःस्थापनामा थोरै भए पनि राहत पुग्ने विश्वास लिएका छौँ,” इन्जिनियर प्रमुख न्यौपानेले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!