पर्वत ४ माघ : क्यान्सर पिडितको सहयोगार्थ मध्यपहाडी लोकमार्ग साईक्लिङमा हिडेको टोली पर्वत सदरमुकाम कुश्मा आईपुगेको छ ।
अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि शुरु भएको लोकमार्गको साइक्लिङ यात्रा १७ औँ दिन शनिवार पर्वत आईपुगेको हो । यात्रामा सहभागि मध्ये दुईजना साइक्लिस्ट क्यान्सर विजेता रहेका छन् । साइकल कल्चर कम्युनिटी नेपालले धुलिखेल अस्पतालसँगको सहकार्यमा पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग साइकलयात्रा आयोजना गरेको हो । टोली पर्वत हुँदै बागलुङतर्फ लागेको छ ।
गत पुस १७ गते चिवाभन्ज्याङ, पाँचथरबाट सुरु भएकृा साइक्लिङ अभियान झुलाघाट, बैतडीमा पुगेर अन्त्य हुने भएको छ । लगभग एक महिना लाग्ने यात्राका क्रममा मध्यपहाडी लोकमार्ग अन्तर्गतका थर्पु, फिदिम, संक्रान्तिबजार, म्याङलुङ, लेगुवाघाट, भोजपुर, दोर्पाचिउरीडाँडा, हलेसी, घुर्मी, लुभुघाट, मेलम्ची, विदुर, आरुघाट, सुन्दरबजार, पोखरा, अछ्ेतखोला पुल, बुर्तिवाङ, रुकुमकोट, चौरजहारी, भगवतीमाई, जम्भुकाढ, मंगलसेन, साजघाट, अमरगढी, पाटन हुँदै झुलाघाटमा समापन गर्ने कार्यक्रम रहेको छ ।

अभियानका क्रममा मुठ्ठीदान, दान, चन्दा एवं सहयोगको मार्पmत संकलित रकम धुलिखेल अस्पतालमा क्यान्सर रोग पिडितहरुको उपचारार्थ कोष स्थापनाका लागि हस्तान्तरण गरिनेछ । उक्त रकम त्यस अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावितहरूका लागि उपयोग गरिने अभियानका संयोजक प्रशुती तथा स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।
एक हजार आठ सय किलोमिको दुरीमा ५२ हजार मिटर उचाइ समेटिने भएको छ । अभियानमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. तारालाल श्रेष्ठ र धुलिखेल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीका साथै क्यान्सर विजेताहरू हर्क लामा र कविता चित्रकारले पनि पूरा साइक्लिङ गर्दै हिडिरहनुभएको छ । क्यान्सर चेतना कार्यक्रम एवं मेडिकल टोलीको छुट्टै टोली साथसाथै रहेको छ । यस साइकल यात्राको नेतृत्व क्यान्सर विजेता एवं सिद्धहस्त साइक्लिस्ट हर्क लामाले गर्नुभएको छ ।
सन् २०२० मा हर्कलाई पिसाब थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । क्यान्सर उपचारपश्चात् उहाँले साइक्लिङलाई पहिले झैं सक्रियता दिई विभिन्न साइक्लिङ प्रतियोगिता जित्दै पनि आउनुभएको छ । अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पनि सहभागी जनाइरहने हर्क नेपालका उच्च हिमाली भू–भागमा साइक्लिङ गर्ने साइक्लिङ एथ्लेटमध्ये अब्बल व्यक्तिका रुपमा चिनिदै आउनुभएको छ । हर्क लामाजस्तै यस साइक्लिङ अभियानमा क्यान्सर विजेता कविता चित्रकार पनि सहभागि हुनुभएको छ ।
विद्यमान यस्तो परिस्थितिमा कुनै पनि व्यक्तिमा क्यान्सर निदान (डायग्नोसिस) भएदेखि क्यान्सरसँगै मानसिक तनाव, डिप्रेसन, आघातले सताउने गरेको छ । जसले गर्दा क्यान्सर उपचारपूर्व वा रेडियो, केमो एवं शल्यक्रिया उपचारपछि मानसिक बल सही अवस्थामा रहन गाह्रो साह्रो नै हुने गरेको अभियानका संयोजक डा. सुमनराज ताम्राकारले बतउानुभयो ।
साइक्लिङ अभियान दौरानमा ठाउँठाउँमा क्यान्सर रोकथामसम्बन्धी जनचेतना कार्यक्रमको आयोजना पनि गरिएको छ । स्थानीय संघसंस्था एवं स्थानीय वा प्रादेशिक सरकारले आ–आफ्नो क्षेत्रबाट साइक्लिङ अभियान टोलीलाई विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गरेको डा. ताम्राकारले जानकारी दिनुभयो ।
फोक्सोको क्यान्सर, मुखको क्यान्सर र पाठेघरको मुखको क्यान्सर नेपालीहरूमा अधिकतर हुने क्यान्सर हुन् । तर नेपालीहरूमाझ फोक्सो, आमाशय, पित्तथैली, स्तन र पाठेघरको मुखको क्यान्सर तुलनात्मक रूपमा प्राणघातक साबित हुँदै आएको बताईएको छ ।
यस साइक्लिङ अभियानले स्वास्थ्य क्षेत्रका चार क्षेत्रहरू (रोकथाम, प्रवद्र्धनात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक) मा धेरथोर सहयोग पुर्याउने अपेक्षा गरिएको छ । क्यान्सर विषयमा क्यान्सर विजेता नै संलग्न भएको यस अभियानमा क्यान्सर उपचार अहोरात्र खटिँदै आएका चिकित्सकहरू नै सहभागी भएको, प्राध्यापनमार्फत यस विषयमा प्रत्यक्ष, अप्रत्यक्ष चेतना फैलाउँदै आएका प्राध्यापकहरू नै समेटिएको यो विश्वकै पृथक् एवं विरलै घटना भएको ताम्राकारले बताउनुभयो ।






