पर्वत- तत्कालीन माओवादी द्धन्द्धका समयमा मारिएका शहिद हरिदत्त तिवारीको स्मृतिमा पवित्र कालीगण्डकी नदिका चारवटा घाटमा प्रतिक्षालय निर्माण गरिने भएको छ ।
शहिद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अबसरमा पर्वतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङ घाट, वडा नं. ६ को सुम्सा घाट, वडा नं. ४ को जैमिनीघाट र फलेवास ४ मोदीवेणीमा गरी चारवटा प्रतिक्षालय निर्माण गर्न थालिएको हो । शव दाहसंस्कार गर्नका लागि घाटमा पुग्ने मलामी तथा पवित्र कालीगण्डकी स्नान गर्न जाने भक्तजनहरुलाई विश्राम गर्न, पानी परेको समयमा ओत बस्न सहज होस् भन्ने उद्धेश्यले चारवटा प्रतिक्षालय निर्माण गर्न थालिएको शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका संरक्षक तथा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले बताउनुभयो ।
रु. दुई लाख ५० हजार रुपैँयाका दरले रु. दश लाख रुपैयामा सत्तलहरु निर्माण सम्पन्न गरिने भएको छ । प्रतिष्ठानको आफ्नै बजेटवाट प्रतिक्षालयहरु निर्माण गरिने नगरप्रमुख तिवारीले जानकारी दिनुभयो ।
शब दाहसंस्कार गर्ने स्थलमा सत्तल, भवन लगायतका पुर्वाधार नुहँदा मलामी तथा तिर्थयात्रीहरुले समस्या भोग्दै आएका छन् । अन्य समय भन्दा वर्षायाममा बढि समस्या हुने गरेको छ । शव जलाउने बेलामा पानी परेमा झनै समस्या हुने गरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष प्रतिक्षालय निर्माणको काम अघि सारिएको नगरप्रमुख तिवारीको भनाई छ ।
आफ्ना पिता हरिदत्त तिवारीपनि सामाजिक र राजनीतिक क्षेत्रमा लागेर समाजको सेवा गर्दागर्दै तत्कालीन माओवादीले हत्या गरेको स्मरण गर्दै उहाँले समाजमा पुर्याएको योगदानको कदर गर्नुका साथै उहाँको सपनालाई साकार पार्नका लागि प्रतिक्षालय निर्माण योजना अघि सारिएको हो । समाज परिवर्तनमै लागेका कारण पितालाई गुमाउनुपरेको उहाँको भनाई छ । उहाँको वि.सं. २०५९ साल माघ एक गते तत्कालीन माओवादीले हत्या घर भन्दा केहि तलको जंगलमा लगेर हत्या गरेका थिए ।
प्रतिष्ठानले प्रत्येक वर्षको माघ एक गत विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ । यस वर्षपनि माघ एक गते बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । विगतका वर्षहरुमा लोकभजन प्र्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य सामाग्री वितरण, विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुर्वाधारहरु विस्तारका क्षेत्रमा काम गर्दै आएको छ ।
चालु आर्थिक वर्षभित्रै चारवटै प्रतिक्षालय निर्माण गरिसक्ने योजना अनुरुप निर्माणकार्य शुरु गरिने तिवारीले बताउनुभयो । नगरप्रमुख तिवारी र उहाँका भाई निर्माण व्यावसायी गिरीजाप्रसाद तिवारीले शनिवार पत्रकार सम्मेलन आयोजना गरी २३ औँ स्मृति दिवसको अवसरमा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको हो ।






