पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना - News site from Nepal
पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पर्वत– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम कुश्मामा रहेको जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यस अघि निर्वाचन आयोगले पर्वतको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश बासुदेव पौडेललाई नियुक्त गरिसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेलले आगामी फागुन २१ गतेको निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित बातावरणमा सम्पन्न गर्न सवै पक्षहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । निर्वाचन लोकतन्त्रको प्रमुख आधार रहेको बताउँदै मतदाताहरुलाई सहज वातावरणमा भोट हाल्ने परिवेश निर्माण गरिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्नका लागि सुरक्षाको दृष्टिकोणवाट तयारीहरु भैरहेको बताउनुभयो । म्यादी प्रहरी भर्नादेखि जिल्लाका मतदान स्थलहरुको स्थलगत निरिक्षण गरिरहेकोले निर्वाचन पर्ण सुरक्षित र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले मतदाता नामावली टुंगो लगाएसँगै कार्यालयले अहिले निर्वाचन सामाग्री रुजु तथा अपुग सामानहरु खरिद प्रकृयामा अघि बढेको बताउनुभयो । उहाँले जिल्ला निर्वाचन कार्यालय निर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रवारदेखिनै आवश्यक कामहरु अघि बढाउने जनाएको छ । आगामी निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४ सय ६६ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लाका ६१ वटै वडामा गरी ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।
नागरिक समाजका अगुवा भोलानाथ शर्माले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । कार्यक्रममा जिल्ला अदालत पर्वतका श्रेष्तेदार ख्यामनारायण लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारीका सन्दर्भमा अघि बढाउने कामका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!