पर्वत– गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज सञ्जाल पर्वतको संयुक्त आयोजनामा सुशासन, भ्रष्टाचारविरुद्ध नियन्त्रणयास, निर्वाचन प्रक्रिया तथा जेनजी र युवाको राजनीतिक सहभागिता विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्वतका सुचना अधिकारी ज्ञानेन्द्र शर्मा, नागरिक समाज सञ्जाल पर्वतका संयोजक माया अधिकारी र नवयुवाको तर्फबाट मदन पौडेलबीच समयसामयिक विषयमा छलफल गराईएको थियो ।
कार्यक्रममा उनिहरुबीच निर्वाचन प्रणालीमा सुधार, युवा र जनजी पुस्ताको सहभागितामा जोड दिँदै नेतृत्व हस्तान्तरणमा जोड दिनुपर्ने निष्कर्ष निकालीएको थियो । भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्धाहरु लामो समयदेखि उठ्दै आएको भएपनि सरकारको प्रभावकारीता र नेतृत्वको असक्षमताले सुधार हुन नसकेको प्रति सवैको एकमत देखिएको थियो ।
कार्यक्रममा गैसस महासंघका नेपालका पुर्व अध्यक्ष रामप्रसाद सुवेदीले अहिलेको शासन व्यवस्थानै परिवर्तन नभएसम्म आगामी चुनावले मात्रै मुलुकमा परिवर्तन नआउने बताउनुभयो । उहाँले जेनजी पुस्ताको आन्दोलनको खास औचित्य पुष्टि हुन नसकेको बताउँदै अब नयाँ पुस्ताले नै सरकारको नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सहसचिब अच्युत तिवारी, नेकपा एमालेका नगर कमिटि अध्यक्ष किशोर सापकोटा, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता शंकर गिरी, राप्रपाका युवा नेता समुन्द्र गिरी लगायतले बोल्नुभएको थियो ।
गैसस महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब बलिनारायण शर्माले गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विभिन्न जिज्ञाशा राखेका थिए । अन्तर संवाद कार्यक्रमको सहजीकरण पत्रकार सन्जय रेग्मीले गर्नुभएको थियो ।






