पर्वत २९ पुस : आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार पछिल्लो पटक अद्यावधिक गरिए अनुसार उक्त संख्या कायम भएको हो । जसमध्ये महिला मतदाताको सख्ंया ६२ हजार आठ सय ६५, पुरुष मतदाताको संख्या ६२ हजार छ सय रहेको छ भने अन्य एक जना रहेका छन् ।
पर्वतमा वि.सं. २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या एक लाख २२ हजार ६ सय ४९ जना रहेका थिए । अघिल्लो निर्वाचन भन्दा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना बढि भएका हुन् । आगामी फागुन २० गतेलाई कट अफ डेट मानेर उक्त संख्या कायम गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार नौ सय ४९, फलेवास नगरपालिकामा २४ हजार एक सय ६१ मतदाता कायम भएका छन् । यसैगरी जलजला गाउँपालिकामा १६ हजार सात सय ५०, पैंयू गाउँपालिकामा ११ हजार छ सय ६७, महाशिला गाउँपालिकामा आठ हजार चार सय ७९ मतदाता कायम भएका छन् । यसैगरी मोदी गाउँपालिकामा २० हजार तीन सय १ जना र विहादी गाउँपालिकामा ११ हजार एक सय ५९ मतदाता कायम भएका छन् ।
आगामी निर्वाचनका लागि पर्वतमा ७६ वटा मतदात स्थल र एक सय ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वतका सुचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो । आगामी निर्वाचनका लागि पर्वतमा दुई वटा मतदान स्थल थप गरिएको छ । मोदी गाउँपालिकाको वडा नं. ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं. ८ फर्सेको शिव माविमा गरी दुईवटा मतदान स्थल थप गरिएको हो भने तीन वटा मतदान केन्द्र पनि थप गरिएको छ ।
कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदान स्थलमा एक सय ४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ वटा मतदान स्थलमा एक सय ५१ मतदान केन्द्र रहने भएको सुचना अधिकारी शर्माले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचनका लागि विभिन्न तयारीहरु गरिरहेको सुचना अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्वाचन सामाग्रीहरु रुजु गर्ने र अपुग भएका सामानहरु खरिद गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित कामहरु भैरहेको उहाँले बताउनुभयो ।






