पर्वतवाट यसवर्ष एसईईमा १६८४ विद्यार्थी सहभागि हुँदै - News site from Nepal
पर्वतवाट यसवर्ष एसईईमा १६८४ विद्यार्थी सहभागि हुँदै

पर्वत-  पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने विद्यार्थीहरुको सङ्ख्या वर्षेनी घट्दो छ । पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्नुका साथै एसईईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या समेत कम हुँदै गएको हो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा एसईई परीक्षार्थी सङ्ख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८४ जनाले परीक्षा दिने तयारी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको सङ्ख्या २ हजार ५० थियो ।

समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा विद्यार्थी सङ्ख्या घट्दा विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या पनि कम हुँदै गएको हो । ग्रामीण क्षेत्रबाट बसाइँसराई बढ्नु, अभिभावकको रोजगारीका लागि विदेश तथा शहरतर्फ पलायन हुनु तथा निजी विद्यालयतर्फ आकर्षण बढ्नु, घट्दो जन्मदरका कारण विद्यार्थी सङ्ख्या घट्दै गएको सरोकारवालाको ठम्याई छ ।

जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केही सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लाका ३२ बढी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेका छन् । विद्यालय मर्जको प्रक्रिया अगाडि बढाउन सकेको देखिँदैन ।

समन्य ईकाइ कार्यालय प्रमुख चपाईले विद्यार्थी सङ्ख्या घट्दो अवस्थालाई हेरी विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिए विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सहज हुने शिक्षा सरोकारवालहरुको भनाइ छ ।

कुश्मा नगरपालिका शिक्षा शाखा अधिकृत दिपक सुवेदीले पालिकाका सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी अवस्थालाई हेरी विद्यालय समायोजन गरी आवासीय विद्यालयको अवधारणा बढाउन लागेको बताउनुभयो ।

जिल्लाभर विद्यार्थीको सङ्ख्या घट्दो दरमा रहेको भएपनि सदरमुकाम कुश्मामा रहेको नारायण माध्यामिक विद्यालयले अघिल्लो वर्षभन्दा यसवर्ष बढी विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराउदै छ। नारायण माविका प्रअ प्रकाश चापागाईका अनुसार यस वर्ष एसईईमा सहभागी हुनेको विद्यार्थीको सङ्ख्या १ सय २५ रहेको छ ।

आउँदो चैत १९ गते हुने एसईई परीक्षाका लागि जिल्लामा ९ वटा परीक्षा केन्द तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन भनी परीक्षा केन्द्र रहने विद्यालयमा सम्वन्धित विद्यालयको शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!