पर्वतका बंगुरमा अफ्रिकन स्वाईन फिभर फैलिँदै, सतर्कता अपनाउन आग्रह  - News site from Nepal
पर्वत २६ फागुन : पर्वत जिल्ला जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग फैलिँदै गएको छ ।
सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाईन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । अहिलेसम्म ४६ वटा बंगुर मरिसकेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बंगुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमुना संकलन गरी गरिएको र्‍यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । थप पुष्टि गर्न नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयले रोगको शंका देखिएको क्षेत्रमा अनुगमन तीव्र बनाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बंगुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका औषधि प्रयोग गरी निसंक्रमण गर्ने, बिरामी बंगुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
यस्तै, शंकास्पद अवस्थामा बंगुरको नमुना प्रयोगशालामा परीक्षण गराउन, मरेका बंगुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बंगुरलाई जंगली बंगुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहोर खुवाउन नहुने उहाँले बताउनुभयो ।
कार्यालयले बंगुर तथा बंगुरजन्य पदार्थको अनावश्यक ओसारपसार नगर्न र बिना परीक्षण मासु बिक्री वितरण नगर्न पनि  सचेत गराएको छ । कार्यालयले यो रोग पशुबाट मानिसमा सर्दैन भन्ने स्पष्ट पारेको छ ।
पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढि व्यावसायिक बंगुर फार्म रहेका छन् । अहिले सदरमुकाम आसपास यो रोग पुष्टि भएको र आवश्यक सतर्कता नपनाएमा अन्य क्षेत्रमा समेत संक्रमण बढ्ने खतरा रहेकोले कृषकहरुलाई सचेत हुन आग्रह गरिएको छ । कृषकहरुलाई कुनै समस्या परेमा तत्काल कार्यालयमा सम्पर्क गर्न समेत कार्यालय प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!