पर्वत, २३ फागुन : बिहीवार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पर्वतमा अन्तिम चरणमा पुगेको छ ।
पर्वतमा शुक्रवार दिउँसो १२ बजेदेखि मतगणना शुरु भएको थियो । अहिलेसम्म झण्डै ५५ हजार मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले फराकीलो अन्तरका साथ अग्रता लिनुभएको छ । उहाँ करिब बिजयीको नजिक पुग्नुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार भुसालको २२ हजार सात सय ९१, नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीको १३ हजार दुई सय १९, नेकपा एमालेका उम्मेदवार पदम गिरीले १३ हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी शर्माको पक्षमा भने तीन हजार चार सय ६४ मत परेको छ ।
चार स्थानमा गणना गरिएकाले आज दिउँसोसम्म अन्तिम मतपरिणाम आईपुग्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष तर्फको सकिएपछि समानुपातीक तर्फको मतगणना गर्ने निर्णय भएको भएको छ ।
पर्वतमा ५२ दशमलब १० प्रतिशत मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार चार सय ६६ मध्ये ६५ हजार तीन सय ७९ मत खसेको हो । जसमा महिला ३५ हजार ४० र पुरुष ३० हजार तीन सय ३९ जनाले मतदान गरेका हुन् । अहिलेसम्म झण्डै २५ हजार मत गणना गरिएको छ । गणना गरिएका सवैजसो वडामा रास्वपाककै अग्रता देखिएको छ ।
पर्वतमा प्रतिनिधि सभा सदस्यका लागि चार स्वतन्त्र सहित १३ वटा राजनीतिक दलवाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमीएका थिए ।
–––






