पर्वत, २२ फागुन : पर्वतमा दिउँसो १२ बजेदेखि मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको मतगणनामा हालसम्म झण्डै ३० हजार मत गठना गरिएको छ ।
अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले ठुलो अन्तरका साथ अग्रता लिनुभएको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार भुसालको १० हजार ६ सय ७, नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीको ६ हजार ४८, नेकपा एमालेका उम्मेदवार पदम गिरीले पाँच हजार तीन सय ९८ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी शर्माको पक्षमा भने एक हजार दुई सय ३० मत परेको छ ।
मतगणना रातभरीपनि गरिने भएको छ । चार स्थानमा गणना गरिएकाले भोली विहानसम्म अन्तिम मतपरिणाम आईपुग्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष तर्फको सकिएपछि समानुपातीक तर्फको मतगणना गर्ने निर्णय भएको भएको छ ।
पर्वतमा ५२ दशमलब १० प्रतिशत मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार चार सय ६६ मध्ये ६५ हजार तीन सय ७९ मत खसेको हो । जसमा महिला ३५ हजार ४० र पुरुष ३० हजार तीन सय ३९ जनाले मतदान गरेका हुन् । अहिलेसम्म झण्डै २५ हजार मत गणना गरिएको छ ।
गणना गरिएका सवैजसो वडामा रास्वपाककै अग्रता देखिएको छ ।
पर्वतमा प्रतिनिधि सभा सदस्यका लागि चार स्वतन्त्र सहित १३ वटा राजनीतिक दलवाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमीएका थिए ।






