पर्वत, २२ फागुन : पर्वतमा अहिले ११ बजेपछि मतगणना शुरु हुने भएको छ ।
मतदान सम्पन्न भएपछि राती अबेरमात्रै सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकाहरु आईपुगेका थिए । शुक्रवार विहान बसेको सर्वदलिय बैठकले ११ बजेदेखि निरन्तर मतगणना गर्ने निर्णय गरेको हो ।
शुरुमा प्रत्यक्ष तर्फको मतगणना गर्ने र प्रत्यक्ष तर्फको सकिएपछि समानुपातीक तर्फको मतगणना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना वडा अनुसार गरिने भएको छ ।
पर्वतमा ५२ दशमलब १० प्रतिशत मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार चार सय ६६ मध्ये ६५ हजार तीन सय ७९ मत खसेको हो । जसमा महिला ३५ हजार ४० र पुरुष ३० हजार तीन सय ३९ जनाले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैपटक चार स्थानमा मतगणना हुने भएको छ । पर्वतमा प्रतिनिधि सभा सदस्यका लागि चार स्वतन्त्र सहित १३ वटा राजनीतिक दलवाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमीएका थिए ।






