पर्वतमा आचारसंहिता उल्लंघनका उजुरी शुन्य   - News site from Nepal
पर्वतमा आचारसंहिता उल्लंघनका उजुरी शुन्य  
पर्वत २० फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दिन फागुन २१ आउन अब दुई दिन बाँकी छन् । गएरातीदेखि मौन अवधि समेत शुरु भएको छ ।
निर्वाचनका कार्यक्रम शुरु भएदेखि हालसम्म पर्वतमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना शुन्यप्राय रहेको पाईएको छ । जिल्लामा आचारसंहिता उल्लंघनको अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष तथा लेखा नियन्त्रक ज्ञानप्रसाद अर्याललाई जिम्मेवारी तोकिएको थियो ।
जिल्लामा सक्रिय राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सञ्चार क्षेत्र कुनैपनि क्षेत्रवाट आचारसंहिता उल्लंघन भएको भन्ने उजरी नपरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा दलहरुले उम्मेदवारी दर्ता गरेदेखि मौन अवधि शुरु हुने बेला सम्म कुनैपनि लिखित उजुरी नपरेका हुन् ।
शुरुमा सामाजिक सञ्जाल फेसबुकमा एकाध व्यक्तिहरुले दल तथा उम्मेदवारको पक्षमा व्यक्तिगत रुपमा लेखेको पाईएपछि मौखिक स्पष्टिकरण सोधिएको भएपनि अन्य कारबाहीनै गर्नुपर्ने गरी लिखित उजुरी नआएको हो । यसपटक जिल्लामा उम्मेदवारी दिएका १३ वटै राजनीतिक दलहरुले शान्तिपुर्ण प्रचारप्रसार शैली अपनाएका कारण पनि उजुरी नपरेको हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
यो अवधिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार पटक सवैदलिय र सर्वपक्षिय बैठक समेत सम्पन्न गरेको छ । बैठकका क्रममा पटक पटक दलहरुलाई आचारसंहिता पालना गर्न सचेत गराईएकाले पनि पर्वतमा कुनैपनि गैरराजनीतिक र निर्वाचन आचारसंहिता विपरितका घटनाहरु नघटेको प्रमुख निर्वाचन अधिकृत बासुदेवे पौडेलले जानकारी दिनुभयो । पर्वतमा निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक पाईएको पछिल्लोपटक शनिवार बसेको सर्वदलिय बैठकले निर्णय गरेको थियो ।
जिल्लमा सक्रिय दलहरुले पछिल्ला दुई दिन सदरमुकाम केन्द्रीत घरदैलो अभियान गरेर चुनावी कार्यक्रम सम्पन्न गरेका छन् ।  यसपटक कुनैपनि दलले आमसभा र कोणसभाको कार्यक्रम गरेनन् । सवै दलले घरदैलो र भेटघाट गरेरै जनतासँग मत मागेका हुन् ।
पर्वतमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लाका सवै मतदान स्थलमा सोमवार साँझसम्म कर्मचारी पुगेर सुचना टाँस गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७६ वटै मतदान स्थलका गतिविधिलाई एकीकृत गर्नका लागि सामाजिक सञ्जालमा समुह बनाएर सुचना आदानप्रदान गर्ने व्यवस्थाप मिलाएको सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेले बताउनुभयो ।
जुनसुकै स्थानमा हुने र घट्ने घटना तत्काल मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय, पत्रकार र उम्मेदवार समक्ष पुग्नेगरी ग्रुप निर्माण गरेर सुरक्षा र पारदर्शिताको हिसावले चुस्त बनाईएको उहाँको भनाई छ ।
पर्वतमा आगामी निर्वाचनमा ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र रहेका छन् भने एक लाख २५ हजार चार सय ६६ मतदाता रहेका छन् । यी मध्ये ३५ अति संवेदनशिल, ३३ संवेदनशिल र ८ सामान्य मतदान स्थलको रुपमा बर्गिकरण गरी सुरक्षा व्यवस्थापन मिलाईएको छ ।  पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्रमात्र रहेको छ । जसका लागि १३ वटा राजनीतिक दल र चार स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!