पर्वत १९ फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२को दिन नजिकिँदै गएको छ । मतदानको दिन नजिकिदै जाँदा पर्वतमा सम्पुर्ण तयारी पुरा भएका छन् ।
पर्वतमा एक सय ५१ मतदान केन्द्र मध्ये १४ वटा मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी महिलाले पाएका छन् भने एक मतदान स्थलमा पुरै महिला कर्मचारी मात्रै परिचालन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार सदरमुकाम कुश्मा नगरपालिका वडा नंं. ६ शिवालय मावि मतदान स्थलमा पुरै कर्मचारी महिला रहेका छन् । एकमात्र मतदान केन्द्र रहेको यहाँ यमकुमारी गुरुङ मतदान अधिकृत रहनुभएको छ भने सहायक मतदान अधिकृत शारदा शर्मा हुनुहुन्छ । गुरुङ नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र प्रमुखको रुपमा कार्यरत रहनुभएको छ ।
शिवालय मतदान स्थलमा सहायक कर्मचारीमा पनि सुनिता सापकोटा, पार्वती सापकोटा, राधिका कुमारी गौतम र देवका मगरले संचालन गर्नुहुने भएको छ । जिल्लाभरीमा सामान्य मतदान स्थलको सुचिमा रहेकाले र सदरमुकाममै रहेकाले यहाँको नेतृत्व महिलालाई दिईएको सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी कुश्मा नगरपालिका वडा नं.१ बडहरेको ग केन्द्रमा गंगाकुमारी शर्मा, वडा नं. २ हिमालय माविको क केन्द्रमा सिर्जना कुमारी शर्मा सुुवेदी, वडा नं. २ कै कालिका माविको ख केन्द्रमा सोविता सुवेदी, वडा नं. ३ को काफलचौर मावि ग केन्द्रको मतदान अधिकृतमा कल्पना मिश्रलाई जिम्मेवारी दिईएको हो ।
यसैगरी कुश्मा ११ को बिरेन्द्र मावि ख केन्द्रमा जानकी कुमारी रिजाल, कुश्मा १२ को जनता सुदर्शन मावि ख केन्द्रमा हसिना चौधरी, फलेवास ४ माटेदेवल मावि ख केन्द्रमा मोतीमाया ढकाल, र ग केन्द्रमा शान्तिदेवी सुवेदी, फलेवास–६ जनता मावि ग केन्द्रमा शान्ता सुवेदी लामिछानेलाई जिम्मेवारी दिईएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार फलेवास–६ लिमिठाना माविको ख केन्द्रमा सविता कुमारी केसी, मोदी गाउँपालिका वडा नं. ५ सरस्वती मावि क केन्द्रमा शान्ति रावत, विहादी गाउँपालिका वडा नं. ३ नेपालतारा माविको ख केन्द्रमा अम्वा कुमारी शर्मा र विहादी गाउँपालिका वडा नंं. ६ को शिला आधारभुत विद्यालयमा ख केन्द्रमा सम्झना आचार्य लामिछाने मतदान अधिकृतको रुपमा खटिनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थलमा खटिने नौ सय १२ जना कर्मचारीहरुलाई शुक्रवार र शनिवार गरी नियुक्तिपत्र प्रदान गरिसकेको छ भने आईतवार र सोमवार निर्वाचन सामाग्री हस्तान्तरण गरि उनिहरु सोमवार साँझसम्म सवै मतदान स्थलसम्म पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेले जानकारी दिनुभयो ।
पर्वतमा आगामी निर्वाचनमा ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र रहेका छन् भने एक लाख २५ हजार चार सय ६६ मतदाता रहेका छन् । यी मध्इे ३५ अति संवेदनशिल, ३३ संवेदनशिल र ८ सामान्य मतदान स्थलको रुपमा बर्गिकरण गरी सुरक्षा व्यवस्थापन मिलाईएको छ । पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्रमात्र रहेको छ । जसका लागि १३ वटा राजनीतिक दल र चार स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका छन् ।






