पर्वत १८ फागुन : गरिब, अनाथ तथा असहाय बालबालिकाको आश्रय तथा उज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले दक्षिण पर्वतको पैंयू गाउँपालिका वडा नं. ४ हुवासमा संसाराघर निर्माण भैरहेको छ ।
अमेरिकामा विभिन्न पेशा व्यावसाय गर्दै आउनुभएका राजेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठद्धारा स्थापित राजेन्द्र–अन्जना फाउन्डेशनले पर्वत “सम्सारा घर अर्थात छात्राबास” निर्माण कार्यलाई तीव्रता दिएको हो । श्रेष्ठका चार दाजुभाइद्धारा निःशुल्क प्रदान गरिएको चार रोपनी जग्गामा रु. दश करोडको लागतमा निर्माण हुने परियोजना अन्तर्गत ५० जना बालबालिका अट्ने सुविधा सम्पन्न भवन, खेलमैदान, गाईगोठ, व्यायामशाला, सेमिनार हल लगायतका संरचना निर्माण गरिने भएको छ ।
आर्थिक रुपमा विपन्न, अभिभावकबिहीन, बेसहारा, र सडक बालबालिकाहरुलाई पालनपोषण गर्ने, गुणस्तरीय शिक्षा दिने र उनिहरुलाई भविष्यको अब्बल नागरिक बनाउने उद्धेश्यले भवन निर्माण थालिएको हो । फाउण्डेशनले अहिले अस्थायी रुपमा श्रेष्ठकै घरमा छात्रवास संचालन संचालन गरिरहेको छ । जहाँ पाँच छात्र र पाँच छात्रा बसिरहेका छन् । उनिहरु चितवनको चेपाङ समुदायदेखि पर्वत र गुल्मीका विपन्न बर्गका हुन् । उनिहरुलाई पालनपोषण र शिक्षादिक्षाका लागि चार जना कर्मचारी नियुक्त गरिएको छ ।
निर्माणाधिन भवनको काम पुरा भएपछि यो संख्या बढाएर ५० जना पुर्याईने भएको छ । संसार घरमा आउने छात्रछात्रालाई कक्षा १२ सम्म पठनपाठन गराईने र त्यसपछि रोजगारीको अवसर प्रदान गर्ने फाउण्डेशनको उद्धेश्य रहेको छ ।
राजेन्द्र र अन्जनाले बैदेशिक रोजगारीको क्रममा जापान र अमेरिकामा निकै संघर्ष पश्चात सफलता प्राप्त गरेर आर्जन गरेको रकम सामाजिक सेवामा लगाउने उद्धेश्यले फाउण्डेशन स्थापना गरी शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको संचालक श्रेष्ठले बताउनुभयो ।
निर्माणाधीन भवनहरुमा आवासीय सुविधा, अध्ययन कक्ष, भोजन कक्ष तथा अन्य आवश्यक पूर्वाधारसहित बालमैत्री वातावरण तयार गरिने फाउन्डेशनले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा आएको यस परियोजनाले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई संरक्षण, आवास र शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
फाउन्डेशनका अनुसार “सम्सार घर” बालबालिकाको केवल आश्रयस्थल मात्र नभई उनीहरूको समग्र शारीरिक, मानसिक र शैक्षिक विकासको केन्द्रका रूपमा विकास गरिने भएको छ । राज्यलाई समेत टेवा पुर्याउने उद्धेश्यले विकट गाउँमै सम्सार घर स्थापना थालिएको हो ।
स्थानीयवासीले समेत यस अभियानलाई सकारात्मक रूपमा लिँदै सहयोग र साथ दिने प्रतिबद्धता जनाएका छन् । अहिलेसम्म भौतिक पुर्वाधारको काम झण्डै ६० प्रतिशत पुरा भएको छ । आगामी असोज सम्ममा पुर्वाधार सम्पन्न भैसक्ने संचालक श्रेष्ठले जानकारी दिनुभयो ।






