पर्वत– मानव सेवा आश्रम बागलुङद्धारा यहि कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन गरिएको छ ।
पर्वतमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीको संयोजकत्वमा जिल्ला स्थित जनप्रतिनिधिहरु, समाजसेवी, धार्मिक व्यक्तित्व, पत्रकार लगायतका सहभागितामा सचिवालय गठन गरिएको हो ।
सचिबालयले यहि कात्तिक १७ गते महायज्ञको प्रचार प्रसारका लागि भेलाको समेत आयोजना गरेको छ । भेलामा जिल्लास्थित सवै सरोकारवालाहरुको सहभागिता रहने जिल्ला संयोजक जिसीले जानकारी दिनुभयो । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाको कार्यालयमा रहेको सचिबालयवाट पर्वत जिल्लाभर प्रचार प्रसार गर्ने, निमन्त्रणा कार्ड पठाउने र दानदाताहरुलाई सम्पर्क समन्वयको काम गर्ने भएको छ ।
यज्ञ मूल आयोजक समितिका अनुसार, समाजसेवा तथा मानव सेवाप्रति जनचेतना जगाउने, सहयोग संकलन गर्ने, महायज्ञमा भव्य सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ प्रचार प्रसारलाई तिव्रता दिइएको हो ।
आगामी कात्र्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित मानवसेवा आश्रम बागलुङको निर्माणाधिन भवन प्राङ्गणमा महायज्ञ आयोजना हुनेछ । जसमा गुरु कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ ।
निरयघाटमा निर्माणाधीन भवन समयमै सम्पन्न गर्न र अक्षयकोष वृद्धि गर्न महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ आयोजक संयोजक समाजसेवी सहदेव राजभण्डारीले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भएपछि आश्रममार्फत सहयोगापेक्षी, असहाय तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य छ ।
आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत, म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ । मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।
दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ । हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हुने गरेको छ ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु.४ करोड आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । महायज्ञमार्फत आवश्यक रकम संकलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ ।






