पर्वत– पर्वतको फलेवास नगरपालिका–७ लिमिठानास्थित लिमिठाना माध्यमिक विद्यालयमा हरितालिका तीज २०८२ को अवसरमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयले आयोजना गरेको तीज विशेष प्रतियोगिता कार्यक्रमको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख तिवारीले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न र महिला शसक्तिकरण गर्नका लागि फलेवास नगरपालिका सदैव सक्रिय भएर लागिरहेको बताउनुभयो ।
तीज मेला अन्तर्गत भलिबल प्रतियोगिता, खुल्ला तीज गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, भाले छोप्ने प्रतियोगिता, महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिता, भाले जुधाई र मेच घुमाई लगायतलका प्रतियोगिता संचालन गरिएको थियो । भलिबल प्रतियोगितामा साविक लिमिठाना गा.वि.स. वडा नं. ६ को समूहले प्रथम, वडा नं. ५ को समूहले द्वितीय र वडा नं. ८ को समूहले तृतीय स्थान हासिल गरेका छन् । खुल्ला तीज गीत प्रतियोगितामा तिनधारे शान्तिटोल आमा समूहले प्रथम, आटीघर आमा समूहले द्वितीय र लिमिठाना माध्यमिक विद्यालयका शिक्षक समूहले तृतीय स्थान प्राप्त गरे ।

नृत्यतर्फ फलेवास मोडेल अंग्रेजी आवासीय माविको समुह प्रथम, आरुसी परियार तथा निकिसा गुरुङको समुहले द्वितीय र शान्ति सुनारले तृतीय स्थान हात पारेका छन् । यसैगरी भाले छोप्ने प्रतियोगितामा निरज थापाले प्रथम स्थान जिते भने लट्ठो तान्ने (पुरुष) प्रतियोगितामा साविक लिमिठाना गा.वि.स. वडा नं. ६ को समूह प्रथम बने ।
त्यसैगरी, लट्ठो तान्ने (महिला) प्रतियोगितामा महिला स्वास्थ्य स्वयंसेविका समूह (फलेवास–७) प्रथम, भाले जुधाइमा अनिश नेपाली प्रथम, अपिल तिमिल्सिना द्धितिय र सुदिप परियार तृतिय बनेका छन् । म्युजिकल चेयर (मेच घुमाइ) प्रतियोगितामा मीना कुमारी शर्मा (लिमिठाना मा.वि.) प्रथम, मञ्जु पन्त (लिमिठाना मा.वि.) द्वितीय र सलिना पौडेल (फ.न.पा–७) तृतीय भएका छन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री रहनुभएको थियो । उहाँले विभिन्न प्रतियोगितामा बिजयी भएकाहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रम सञ्चालन सामुदायिक रेडियो पर्वत (१०३.६ मेगाहर्ज) का कार्यक्रम संयोजक महेश भुसालले गर्नुभएको थियो । स्वागत प्रअ विजयराज पौडेल अध्यक्ष देवेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कलाकारहरु चित्रसागर श्रेष्ठ, सुदिप क्षेत्री, शोभा परियार, सलिना गुरुङ, कृष्ण कँडेल, अर्जुन पन्त, समिर परियार, अर्पण परियार लगायतको बजोड प्रस्तुती रहेको थियो ।






