पर्वत– स्थानीय प्रतिभा पहिचान र युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित पर्वतको मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप २०८२ तथा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
‘खेल अभियान–मोदीको पहिचान’ भन्ने मुल नारा सहित प्रथम अध्यक्ष कप–२०८२ यही मंसिर १४ देखि १९ गतेसम्म मोदी खेल मैदान डिमुवामा सञ्चालन हुने भएको छ । जस अन्तर्गत विविध साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रममा अन्तरपालिका खुल्ला पुरुष भलिवल प्रतियोगिता, जिल्ला स्तरीय खुल्ला बि/सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रीतयोगिता, महिला रत्यौली प्रतियोगिता, महिला लठो तान्ने प्रतियोगिता, लोक भजन प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, म्युजिकल चियर र घैटो फुटाउने प्रतियोगिता हुने भएको छ ।
यसैगरी पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि हुने भएको छ । त्यसैगरी जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको बीचमा मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि संचालन गरिने मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिुभयो ।
यस वर्षको अध्यक्ष कपमा अन्तरपालिका खुला पुरुष भलिबलमा पहिलो हुने टोलीले रु १ लाख, दोस्रोले रु ७५ हजार र तेस्रोले रु ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन क्रमशः रु २० हजार, रु १० हजार र रु ५ हजार पुरस्कार विनियोजन गरिएको छ ।
महिला रत्यौली प्रतियोगितामा विजेताले रु २० हजार, दोस्रो स्थानले रु १५ हजार र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् ।
लठो तान्ने प्रतियोगितामा बिजेता समुहले रु. पाँच हजार पुरस्कार पाउने छ भने अन्तर समुह लोक भजन प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितियले १५ हजार र तृतियले १० हजार पुरस्कार पाउने छन् । यसैगरी विद्यालय स्तरीय लोक नृत्य प्रीतयोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशः १०, ७ र पाँच हजार रुपैया पुरस्कार पाउने छ । महिला उद्यमी तथा व्यावसायी बीच हुने म्युजिकल चियर प्रीतयोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार पुरस्कार पाउने छन् । यसैगरी घैटो फुटाउने प्रतियोगितामा एक हजार पुरस्कार तोकिएको छ ।
गाउँपालिकाले जानकारी दिएको अनुसार प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघ, जिल्ला ब्याडमिन्टन संघसँग सहकार्य गरिने भएको छ । प्रतियोगिता मा सहभागि टोलीले मंसिर १३ गते ४ बजेसम्म टिम दर्ता गराउनुपर्ने पालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा हस्ताक्षरित सूचनामा खेलकुद, संस्कृति र सामाजिक एकता प्रवद्र्धनका लागि सबै स्थानीयवासी, विद्यालय, अभिभावक तथा खेलप्रेमीहरूलाई सक्रिय उपस्थितिका लागि अनुरोध गरिएको छ ।






