पर्वत- पर्वतको फलेवास नगरपालिकामा आमा–बा स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ ।
ग्रामीण क्षेत्रमा रहेका जेष्ठ नागरिक, बृद्ध, बृद्धाहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने र उनिहरुलाई विभिन्न रोगब्याधीको संक्रमणवाट मुक्त राख्नका लागि आमा बा स्वास्थ्य कार्यक्रम संचालन गरिएको हो । बृद्धबृद्धाहरुको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परिक्षण, रगत, दिशा, पिसाब, खकार लगायतको जाँच, पोषण अवस्थाको लेखाजोखा लगायत अन्य रोगको उपचार तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकाहरुलाई उपचारका लागि अस्पताल रिफर समेत गर्न यो कार्यक्रम संचालन गरिएको हो ।
गत शुक्रवारदेखि वडा नं. १ कार्कीनेटवाट शुरुवात भएको यो कार्यक्रम ११ वटै वडामा संचालन हुने भएको छ । जसमा चिकित्सक सहित स्वास्थ्यकर्मीहरु नगरका सवै घरधुरीमा पुग्ने भएका छन् । बृद्धबृद्धाहरुको नियमित स्वास्थ्य परिक्षण, दिर्घकालीन रोगीहरुले सेवन गर्दै आएको औषधीको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समय लगायतका बारेमा समेत जानकारी गराईने फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो ।
पछिल्लो समय गाउँमा युवा पुस्ता शुन्यप्राय छन् । गाउँमा बृद्धबृद्धाहरुमात्र रहेको अवस्थामा उनिहरु सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्दैनन् । जसका कारण लामो समयदेखि विभिन्न रोगले संक्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमा बा स्वास्थ्य कार्यक्रम संचालन गरिएको सापकोटाले बताउनुभयो ।
कार्किनेटाबाट शुरु भएको अभियान थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङराङमा पुगेर टुंगिने भएको छ । हरेक ६/६ महिनामा नियमित स्वास्थ्य परिक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो । यो समाचार आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
जेष्ठ नागरिकसँगै ३० वर्ष भन्दा माथिका सवै नागरिकको स्वास्थ्य परिक्षण गरिने छ । उपचारका क्रममा निःशुल्क औषधी समेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीहरुलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्था समेत गरिने नगप्रमुख तिवारीले बताउनुभयो । आर्थिक अभावका साथै अस्पताल सम्म लैजान आफन्तजनको अभावमा जेष्ठ नागरिक, अपाङ्गता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस भन्ने नगरपालिकाको मुख्य उद्धेश्य रहेको नगरप्रमुख तिवारीको भनाई रहेको छ ।
यो कार्यक्रम मार्फत नगरका दश हजार भन्दा बढिको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य रहेको छ । नगरपालिका भएपनि अधिकांस ग्रामीण बस्ती रहेको फलेवासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको छ । नगरका अधिकांस वडामा रहेका स्वास्थ्य चौकीमा अहेबको भरमा संचालित छन् । सरकराले निशूल्क ९८ प्रकारका औषधी वितरण गर्ने भनिएपनि मुस्किलले ४० प्रकारका औषधी मात्र स्वास्थ्य संस्थाहरुमार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभैरहेको बेला चिकित्सक सहितको टोली घरघर र टोलटोलमा पुगेर जेष्ठ नागरिक सहित ३० वर्ष माथिका सवैको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमले नगरवासीहरुलाई स्वस्थ्य राख्न मद्धत पुग्ने वडा नं. ८ ठानामौलाका वडा अध्यक्ष मनबहादुर कुँवरले बताउनुभयो ।






