प्रदेश अस्पताल पर्वतमा साढे ७३ हजार बिरामीको उपचार  - News site from Nepal
प्रदेश अस्पताल पर्वतमा साढे ७३ हजार बिरामीको उपचार 
पर्वत-  प्रदेश अस्प्ताल पर्वतमा पछिल्ला केहि वर्ष यता बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।
अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शैयावाट ५० शैयामा स्तरोन्नतीको अनुमति पाएपछि बिरामीको संख्या समेत उल्लेख्य मात्रामा बढेको हो । गत आर्थिक वर्ष वि.सं.२०८१/८२ मा यस अस्पतालवाट ७३ हजार पाँच सय ६५ जना बिरामीको उपचार गरिएको छ ।
अस्पतालको सेवा विस्तारसँगै विभिन्न विशेषज्ञ सुविधाहरु थप भएपछि पर्वतका साथै छिमेकी जिल्लाहरुवाट समेत बिरामी आउने गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५८ हजार छ सय २८ जना बिरामीको उपचार गरिएकोमा आर्थिक वर्ष वि.सं.२०८१/८२ मा १४ हजार नौ सय ३७ जना अर्थात २५ दशमलब ४८ प्रतिशत बढि बिरामीले सेवा लिएका हुन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार सिमीत श्रोत र जनशक्तिका बीच बिरामीहरु उल्लेख्य मात्रामा उपचारका लागि आएको बताउनुभयो ।
उहाँका अनुसार ६४ हजार एक सय १४ जनाले बहिरङ्ग विभागबाट, नौ हजार चरा सय ५१ जनाले आकस्मिक विभागबाट सेवा लिनुभएको । एक हजार पाँच सय ७१ जनाले अन्तरङ्ग विभागबाट भर्ना भइ सेवा लिनुभएको उहाँले बताउनुभयो । अस्पतालले थप विशेषज्ञ सेवा विस्तार गरी हाड जोर्नी रोग विशेषज्ञ, महिला तथा प्रसुति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत सर्जिकल सेवा विस्तार समेत गरेको छ । डा. बास्तोलाका अनुसार गत आर्थिक वर्ष वि.सं.२०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यो भन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले पर्वत अस्पतालवाट सेवा लिएका थिए ।
अस्पतालवाट विशेषज्ञ सुविधासँगै ६५ वटा शैया विस्तार गरिएको छ । त्यसैगरी स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएपछि अस्पतालमा सेवाग्राहीको चाप बढेको डा. बास्तोलाले बताउनुभयो । ‘दुई वर्ष अगाडि दैनिक एक सय देखि डेढ सय जानाको स्वास्थ्य परिक्षण हुने गरेकोमा अहिले दैनिक करिब तीन सय ५० जना सम्म बिरामी आउने गर्छन ।’ डा. बास्तोलाले भन्नुभयो ।
अस्पतालमा आफ्नै अक्सिजन प्लान्टसहित आधुनिक र प्रविधियुक्त भवनमा सरेर सेवा दिँदा व्यवस्थापन गर्न सजिलो भएको डा. बस्तोलाको भनाइ छ । गण्डकी प्रदेश सरकारले गत वैशाखमा ५० शैयाको अस्पतालको अनुमति प्रदान गरेको थियो । अस्पतालमा बाल रोग विशेषज्ञ, स्त्री तथा प्रशुती रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ लगायतको सविधा समेत थप गरिएको छ ।
अहिले अस्पतालवाट नियमित स्वास्थ्य परिक्षण सँगै दश शैयाको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाईड्रोसिल, हर्निया, एपेन्डिसाईटिस लगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरे लगायतका सेवाहरु संचालन भैरहेका छन् । यसैगरी फिजियोथेरापी सेवा, पोष्ट अपरेटिभ सेवा, आँखा, ओसिएमसी, एसएनसियू सेवा समेत संचालनमा रहेको छ । गत आर्थिक वर्षमा अस्पतालवाट दुई हजार चार सय २९ जनाले डायलासिस सेवा लिएका छन् भने ४० जनाले इमर्जेन्सि डायलासिस सेवा लिएको असप्तालले जनाएको छ ।
यसै महिनामा १२ प्रकारका ल्याव सेवा समेत विस्तार गरेको अस्पतालमा दक्ष जनशक्तिकै अभावमा आईसियु र भेन्टिलेटर विगत छ वर्षदेखि स्टोरमा थन्किएका छन् । सरकारले जनशक्ति दिएर तिनलाई समेत प्रयोगमा ल्याउन पाए अस्पतालको विश्वास अझै बढ्ने डा. बास्तोलाको भनाई रहेको छ ।  अस्पतालमा बि ग्रेडको एम्बुलेन्स समेत नहूँदा समस्या भैरहेको उहाँको गुनासो रहेको छ । यस्तै सुविधासम्पन्न शव वहान ल्याउने प्रकृया थालिएको अस्पतालका निवर्तमान अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!