छमर्के आमा समुहद्धारा गणेश मन्दिरका जग्गादातालाई सम्मान - News site from Nepal
छमर्के आमा समुहद्धारा गणेश मन्दिरका जग्गादातालाई सम्मान

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–४, छमर्केमा अवस्थित श्री गणेश मन्दिरका लागि जग्गा दान गर्ने श्रेष्ठ परिवारलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ ।
छमर्के आमा समुहले शनिवार एक कार्यक्रमको आयोजना गरी स्व. श्रीप्रसाद श्रेष्ठ र स्व.दीर्घकुमारी श्रेष्ठले मन्दिर निर्माणका लागि जग्गा दान गर्नुभएको कार्यको उच्च मुल्यांकन गर्दै उहाँका परिवारका सदस्यलाई सम्मान गरिएको हो । उहाँहरूका सुपुत्रहरू स्व. लक्ष्मी प्रसाद श्रेष्ठ र श्री टेक नारायण श्रेष्ठ तथा बुहारीहरू श्रीमती नन्दकुमारी श्रेष्ठ र श्रीमती धनकुमारी श्रेष्ठलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य आदरणीय अर्जुनप्रसाद जोशीले धार्मिक कार्यमा समर्पित यसप्रकारको योगदान समाजको लागि प्रेरणादायी हुने बताउनुभयो । श्रेष्ठ परिवारले देखाएको आस्था, त्याग र सेवाभाव अत्यन्त प्रशंसनीय रहेको बताउँदै यसले भावी पुस्तालाई धर्म, संस्कार र सामाजिक उत्तरदायित्वप्रति जागरूक बनाउने बताउनुभयो । उहाँले धार्मिक स्थलहरूको संरक्षण र सम्वद्र्धनमा सबैको सरोकार र सहभागिता आवश्यक रहेको पनि जोड दिनुभयो । जोशिले यहाँको आमा समुह गठनदेखि मन्दिर तथा भवन निर्माणमा आफुले निरन्तर सहयोग गर्दै आएको बताउँदै महिलाहरुको क्षमता विकाससँगै अन्य क्षेत्रको विकासमा पनि सक्रिय हने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख स्वास्थानी रिजाल, कुश्मा नगरपालिका–४ का वडा अध्यक्ष दिनेश श्रेष्ठ, जग्गा दाता टेकनारायण श्रेष्ठ, स्थानीय समाजसेवी बैकुण्ठ चापागाई लगायतले बोल्नुभएको थियो ।
छमर्के आमा समुहका अध्यक्ष गम्बिरा कुमारी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब लक्ष्मी पुनले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!