पर्वत – जिल्लाको मोदी गाउँपालिका- ३,देउराली लाङ्दीका पहिरो पीडितलाई जननेत्र भूतपूर्व विद्यार्थी मञ्चको तर्फबाट नगद सहित खाद्यान्न वितरण गरिएको छ । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र उहाँकि पत्नी बिष्णुमती विश्वकर्माको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
मोदी २, देउपुर, गौंडा घर भई हाल जापानमा रहेका भूपू विद्यार्थी सागर प्रसाद शर्माको पहलमा संकलन गरिएको २२ हजार रुपैया र स्वदेशमा रहेका पूर्व विद्यार्थी एबम् समाजसेवी व्यक्तिहरू द्वारा प्रदान गरिएको १३ हजार ३ सय ५० गरी कुल ३५ हजार ३ सय ५० रुपैया बराबरको सहयोग हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष देवेन्द्र गिरीले जानकारी दिनुभयो । पीडित परिवारलाई नगद रु २९ हजार ४ सय ५० र ५ हजार ९ सय बराबरको खाद्यान्न र भाडावर्तन घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
दुखको बेलामा थोरै भएपनि राहत होस् भन्ने हेतुले नगद सहित आवश्यक खाद्यान्न सामाग्री लगायत भाडावर्तन सहयोग गरिएको अध्यक्ष गिरीले जानकारी दिनु भयो । सो अवसरमा जननेत्र माविका शिक्षक, पूर्व विद्यार्थीहरु र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । मञ्चले विपदमा परेका परिवारहरूलाई बेला बेलामा विभिन्न किसिमको सहयोग गर्दै आई रहेको छ ।






