पर्वत – पर्वत जिल्लाको महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । महाशिला र विहादी दुवै गाउँपालिकाले मंसिर १८ गतेदेखि २० गतेसम्म खेल खेलाउने भएका हुन् ।
महाशिला गाउँपालिका वडा नं. ३ बालाकोटमा रहेको कृष्णगोपाल स्मृति खेलमैदानमा खेल खेलाउने भएको छ भने विहादीले विहादी–४ वहाकी स्थित सापचौर खेलमैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन मंसिर १८ गते बिहान ११ः०० बजे गरिने उल्लेख गरिएको छ । समग्र विद्यालयस्तरमा हुने यो प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहनेछ ।
प्रतियोगितामा एथलेटिक्स तथा विभिन्न फिल्ड खेलहरू समावेश गरिएका छन्। दौड, ज्याभलिन, लङ–जम्प, हाई–जम्प, सट–पुट लगायतका प्रतिस्पर्धात्मक खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विद्यालयबाट तोकिएको संख्यामा विद्यार्थी सहभागी गराउन सकिने जनाइएको छ।
प्रतियोगिता व्यवस्थापन, उमेर समूह, नम्बर र अंक प्रदान गर्ने प्रक्रियासहितका सबै नियम–कानूनहरू २०७० को राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुसार हुने सूचनामा उल्लेख गरिएको छ। खेलाडीसँग क्ष्भ्ःक्ष्क् क्ष्म् अनिवार्य रहेको र विद्यालयले तोकिएका कागजात साथमा ल्याउनुपर्ने पनि जनाइएको छ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा विद्यालय छनोट गरिनेछ र उत्कृष्टता हासिल गर्ने विद्यालय तथा खेलाडीलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्वारा सम्मान गरिने विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।
स्थानीय तहस्तरमै प्रतिभा विकास र विद्यालयस्तरीय खेलकुदलाई सशक्त बनाउने उद्देश्यले विहादी र महाशिला गाउँपालिकाले प्रतियोगिता निरन्तरता दिँदै आएका छन् । महाशिलामा खेलमैदान तयार गर्ने लगायत अफिसियल तयारीहरु भैरहेको प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।





