पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिकाको वडा नं ६, तिलाहारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
आइतवार आयोजित एक समारोहमा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि बालबालिकाको बचाउ, संरक्षण, बिकास र सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री शासनका सबै सूचक पुरा भएपछि बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री वडा घोषणा गर्दै सांसद कुँवरले बालबालिकाहरुको हक अधिकार सुरक्षित गर्नुका साथै उनिहरुलाई हरेक क्षेत्रमा साझेदारको रुपमा सहभागि गराउनुपर्नेमा जोड दिनुभयो । अझैपनि विभिन्न क्षेत्रमा बालअधिकार हनन् भैरहेका घटनाहरु सुनिदै आएको बताउँदै बालबालिकाको भविष्य निर्माणका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले घोषणा गरेर मात्र नहुने भन्दै यसलाई पुर्ण कार्यान्वयन र निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरी, जिल्ला शिक्षा समन्वय इकाई पर्वतका प्रमुख मतीलाल चपाई, तिलाहारका वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने लगायतले बोल्नुभएको थियो ।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत दिनेश शर्मा पौडेलले गर्नुभएको थियो । सो अवसरमा स्थानीय कला संस्कृति र झाकीहरु प्रदर्शन गरिएको थियो ।
नेपाल सरकारले २०८७ साल भित्र सबै स्थानिय तहलाइ बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यलाइ शिरोधार्य गर्दै मोदी गाउँपालिकाले ६ वटा वडाहरुलाइ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ ।
बालबालिका भविष्यका कर्णधार मात्र नभइ वर्तमानका साझेदार पनि भएकोले गाउँपालिकाले स्थानिय शासन, बिकास र सेवा प्रवाहमा बालबालिकाको पहुँच, प्रतिनिधित्व र सहभागिताका लागी सहज वातावरण निर्माणमा जोड दिने उद्देश्यका साथ कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाले जानकारी दिएको छ । पालिकाले यसै वर्ष सिंगो पालिकालाई नै बालमैत्रि पालिका घोषणा गर्ने तयारी गरेको छ ।




