पर्वत – पर्वतको कुश्मामा सम्पन्न भएको महिला भलिवल प्रतियोगितामा धादिङ स्पोर्टस क्लव बिजेता बनेको छ ।
पर्वत महोत्सवको अवसरमा आयोजित महिला भलिवलको आज भएको फाईनल खेलमा कुश्मा नगरपालिकाको टोलीलाई हराउँदै धादिङको महिला समूह बिजेता बनेको हो ।
धादिङले कुश्मा नगरपालिकालाई ३-२ ले पराजित गरेको हो । विजेता बनेको धादिङले नगद ५० हजार पुरस्कार पाएको छ भने उपबिजेता बनेको कुश्मा नगरपालिकाले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा ५ टोली सहभागी भएका थिए । फाईनल खेलमा सरिक भएर कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।
यसैबिच आजबाट पुरुष भलिवल प्रतियोगिता समेत शुरु भएको छ । उद्घाटन खेल पर्वतको पकुवा र बागलुङको काठेखोलाको टिम बिच भएको छ । यो प्रतियोगितामा तीनै सिटमा विजयी हुँदै काठेखोलाको टिम अघिल्लो चरणमा प्रवेश गरेको छ । पुरुष भलिवलमा प्रथम, दित्तिय र तृतिय हुनेले क्रमश ः २ लाख, १ लाख र सान्त्वना दुई टिमले ३०/३० हजार पुरस्कार पाउने छन् ।
सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ सटर, उत्कृष्ठ ब्लकर, उत्कृष्ठ लिफ्टर, उत्कृष्ठ सर्भर र उत्कृष्ठ डिफिण्डरले पनि पुरस्कार पाउने खेल संयोजक शेरबहादुर चोचाङ्गीले जानकारी दिनुभयो । कुश्मा नगरपालिका ५ बडागाउँ खेलमैदानमा जारी पर्वत महोत्सवमा आयोजित पुरुष भलिवल प्रतियोगितामा भाग लिन १६ समूहले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
खेलका कारण महोत्सवमा दर्शकहरुको भीड लाग्ने गरेको छ ।






