पर्वत, २० असोज । पर्वतको कुश्मा बजारमा जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले शनिबार विहान एउटा सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रममा १४ बर्ष देखि ९० बर्ष उमेर समुह सम्मका व्यक्तिहरुको सहभागिता थियो । विशेष गरी ‘टिनएजर’ विद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा लागु औषध सम्बन्धि जानकारी मुलक प्रस्तुतिकरण पश्चात् जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक केशव केसीले सहभागीहरुलाई एउटा अनुरोध गरे । ‘सवैले एकै स्वरमा भनौँ ‘नो ड्रग’ कार्यक्रमका सहभागी सवैले एकै स्वरमा ड्रग (लागु औषध) प्रयोग नगर्ने बारे सामुहिक प्रतिबद्धता जनाए ।
प्रहरीले समुदाय सँग साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न समुदाय देखि विद्यालय स्तर सम्म पुगेर सामाजिक विकृतिका रुपमा रहेका विषयबस्तुमा सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा शनिबार पर्वत जिल्लाको सदरमुकाममा सञ्चालित विभिन्न विद्यालयका विद्यार्थीहरु र अभिभावकहरु सहितको उपस्थितिमा सचेतना मुलुक कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले घर, समाज, विद्यालय र आफु सचेत बन्न सकियो भने लागु औषध दुव्र्यसनको प्रभाव नियन्त्रण गर्न सजिलो हुने कुरा प्रष्टाए । उनले दुरदराज सम्म पुगेर सचेतना मुलक अभियान सञ्चालन गर्न सकेमा अबश्य पनि प्रतिफल प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला न्यायधिबक्ता केदारनाथ उपाध्यायले समग्र लागु औषधको उत्पादन तथा प्रयोग सम्बन्धि भएको कानूनी व्यवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भूसालले जनचेतना मुलक अभियान सञ्चालन गर्नुको तात्पर्य बारे प्रष्टाएका थिए । उनले गत आर्थिक बर्ष र यो बर्ष गरी झण्डै ८० भन्दा बढी सचेतनामुलक अभियान सञ्चालन गरिएको समेत जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक पूणर्िमा थापाले गरेकी थिइन् ।






