पर्वत- सहकारी संस्थाहरुको वर्तमान अवस्था र चुनौती लगायतका विष्यामा पर्वत सदरमुकाम कुश्माबजारमा अन्तरक्रिया तथा समन्वय गोष्ठि सम्पन्न भएको छ ।
सहकारी रजिस्टारको कार्यालय पोखराको आयोजना तथा जिल्ला सहकारी संघ पर्वतको ममन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले मुलुकमा देखिएको आर्थिक मन्दिसँगै सहकारी संस्थाहरु समेत समस्यामा परेको भन्दै सहकारीका लगानीकर्ताहरु सचेत र सजग हुनुपर्ने बताउनुभयो । सहकारीलाई नीति, नियम र मापदण्डअनुसार संचालन गर्ने हो भने सहकारीहरु समस्यामा नपर्ने उहाँको भनाई रहेको छ । उहाँले गरिब, विपन्नहरुको आयआर्जनमा सहकारी संस्थाहरु केन्द्रीत हुनुपर्ने बताउँदै नाफामुलक भन्दा पनि सहकार्य र सेवामुलक क्षेत्रमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुले पर्वतमा संचालित सहकारी संस्थाहरुमा देखिएका समस्या, चुनौती र समाधानका उपायका बारेमा छलफल गरेका थिए । कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रोशन अर्यालले सहकारी संस्थाको समसामयिक अवस्थाका बारेमा प्रस्तुती राख्नुभएको थियो ।
कार्यालयका रजिष्ट्रार रोशन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सहकारी संघ लिमिटेड पर्वतका अध्यक्ष शेषराज रेग्मी र संचालन शाखा अधिकृत इश्वरी ढकालले गर्नुभएको थियो ।






