पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी र वडा नं. १३ खौलालाकुरीमा रहेका सापकोटा बन्धुहरुको कुल पुजा कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
ठुलीपोखरी स्थित बुमीमा रहेको कुल मन्दिरमा पुजाआजा सम्पन्न भएको हो । सोहि अवसर पारेर मन्दिर हातामा निर्माण गर्न थालिएको सत्तल भवनको पनि शिलन्यास गरिएको छ । भवनको सापकोटा बन्धु समाजका सवैभन्दा जेष्ठ नागरिक पदमपाणी शर्माले शिलन्यास गर्नुभएको हो । कुल मन्दिरमा आउने भक्तजनहरुको सहजताका लागि सत्तल निर्माण गर्न थालिएको हो । अर्का बयोबृद्ध देवनारायण सापकोटा समेत शिलन्यासमा सरिक हुनुभएको थियो ।

अब तत्काल भवनको लगत स्टिमेट तयार गरेर काम अघि बढाईने कुल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाले बताउनुभयो । यसका लागि आवश्यक रकम सापकोटा बन्धुहरुवाटै संकलन गरिने भएको छ ।
कुल पुजाका लागि स्थायी तथा साविक सोहि स्थानमा घर भई देश विदेशमा छरिएर रहेका सदस्यहरुको समेत सहभागिता रहेको थियो । सापकोटा बन्धुहरुको ऐतिहासिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्नका लागि पनि कुल पुजालाई निरन्तरता दिनुपर्ने किशोर सापकोटाले बताउनुभयो । कुलको योगदानलाई सँधैभरी स्मरण गर्नका लागि पनि कुल पुजा महत्पुणर् रहेको केशवराज सापकोटाले बताउनुभयो ।






