मोदी गाउँपालिकाको कृषिमा आत्मनिर्भर बन्ने प्रयास, चारवटा अनुदानमुलक कार्यक्रमका लागि आवेदन माग - News site from Nepal

पर्वत- कृषि क्षेत्रमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वतको मोदी गाउँपालिकाले अनुदानमुलक कार्यक्रम संचालन गर्ने भएको छ ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत चार वटा क्षेत्रमा कृषि पेशा गर्न इच्छुक पालिकावासी कृषकका लागि अनुदान दिने भएको हो । पालिकाले सुचना जारी गर्दै पालिका भित्रका कृषक, कृषि सहकारी, कृषक समुह वा कृषि फर्मले १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।
पालिकाले मोदी नमुना प्राङ्गारिक कृषि गाउँ स्थापनाका लागि इच्छुक फर्म वा संस्थाले निवेदन दिन आग्रह गरेको छ । जुन कार्यक्रका लागि चालु आर्थिक वर्षमा १० लाख बिनीयोजन गरिएको छ । यो पालिका भरीमा एक वटा स्थानमा मात्र संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत कमल गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी गोला सहितको मौरी घारमा साझेदारी कार्यक्रम अन्तर्गत ३० जनालाई वितरण गरिने भएको छ । जसका लागि रु ३ लाख रुपैया बिनीयोजन गरिएको छ । यो कार्यक्रममा विपन्न परिवार र विदेशवाट फर्किएका युवा युवतीको प्रोत्साहनलाई प्राथमिकता दिईने भएको छ ।
त्यसैगरी कृषि यान्त्रिकिकरण साझेदारी तथा अनुदान कार्यक्रमका लागि रु ८ लाख बिनीयोजन गरिएकोमा ४५ जना कृषकलाई मिनीटिलर र कुटानी पिसानी मिल वितरण गरिने भएको छ ।भने किवी खेती प्रवद्र्धन कार्यक्रमका लागि दुई वटा फर्म वा संस्थालाई रु २ लाख वितरण गरिने भएको छ ।यसका लागि सम्वन्धित फर्म वा संस्थाले ५० प्रतिशत साझेदारी गर्नुपर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
उक्त अनुदान लिनका लागि फर्म वा संस्था दर्ता र नविकरणको प्रतिलिपि, जग्गा धनीको लालपुर्जा, कर चुक्ताको प्रमाणपत्र,लाभग्राहीको नागरिकता लगायतका कागजात पेश गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!