पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारमै केन्द्रीत बनेका छन् । नेकपा एमालेको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो ।
स्थानीयले कालीगण्डकी लोकमार्गको पुणर्ता, ग्रामीण सडकहरुको स्तरोन्नती र एक घर एक खानेपानी धारा कार्यक्रमलाई पुणर्ता दिन माग गरेका छन् । सुन्तलाको पकेट क्षेत्र समेत रहेको पाङरामा यसको विस्तार र बजारीकरण तथा कोल्ड स्टोरको समेत व्यवस्था गरिदिन उम्मेदवारसँग माग गरका हुन् ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आफु नागरिककै सेवाका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउँदै विगतका पाँच वर्षमा पुरा हुन बाँकी रहेका कामको पुणर्ताका लागि पनि आफुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । विगतमा एमालेकै नेतृत्वमा रहेको नगरपालिकाले धेरै बिकासका काम शुरुवात गरेको बताउँदै ती कामहरुलाई पुणर्ता दिनपनि पुन एमालेकै सरकार आउनुपर्नेमा उहाँको जोड रहेको छ । स्थानीयले राखेका मागहरु निर्वाचन लगत्तै पुरा गर्न पहल गर्ने उहाँको प्रतिवद्धता छ । स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास संभव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति नेकपा एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न उहाँले मतदातासँग मत दिन आव्हान गर्नुभएको छ ।
त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले यो मुलुकको समृद्धि र विकास एमालेबिना सम्भव नहुने बताउँदै अरुको फोस्रा आश्वासनको पछि नलाग्न आग्रह गर्नुभयो । निर्वाचन जितेर गैसकेपछि मतदाताले राखेका मागहरु एक एक गरी पुरा गर्ने उहाँको प्रतिवद्धता रहेको थियो ।

त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम आज जलजला गाउँपालिकाको लस्ती, वारीवेनी, मिलनचोक र बगरफाँट लगायतका स्थानमा सम्पन्न भएको छ । घरदैलो, भेटघाट र कोणसभामा उम्मेदवार कुँवरले राखेका एजेण्डा र योजनावाट स्थानीयहरु प्रभावित बनेको प्रतिकृया दिएका थिए । निर्माणाधिन योजनाहरुको पुणर्ताका लागि पनि सवै सिटमा एमालेले जित्नुपर्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी आफुलाई नागरिकको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो ।
यसैगरी सत्तारुढ गठवन्धनका उम्मेदवारको चुनावी कार्यक्रम फलेवास नगरपालिका वडा नं. १ र २ मा सम्पन्नभएको छ । गठवन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशी र ऋषिकेश तिवारीले कार्किनेटा र थापाठानाका विभिन्न बस्ती र टोलमा पुगेर कोणसभा र घरदैलो गर्नुभएको छ । कोणसभामा बोल्दै प्रतिनिधीसभाका उम्मेदवार जोशीले चुनावी बाचा र प्रतिबद्धता एक एक गरि पुरा गर्ने बताउनुभयो । उहाँले विगतमा सडक नपुगेको गाउँमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकी, सञ्चारसेवा विस्तार गरेको भन्दै जोशीले विकासका कामका लागि आफूहरुलाई विजयी गराउन आव्हान गर्नुभयो ।
जोशीले भन्नुभयो,‘ मलाई कसैकसैले सोध्ने गर्नुहुन्छ अर्जुन जोशीले के काम गर्यो,’ जोशीले भन्नुभयो,‘ उतिबेला जे आवश्यकता थियो त्यो काम गरेँ ।’ अब साँसद भएपछि हिजो खनिएका सडक कालोपत्रे गर्ने, गाउँमै रोजगारमुखी व्यावसाय सञ्चालन गर्ने, बसाईसराई रोक्ने खालका कामहरु गर्ने, दलित, महिला, जनजाती, विपन्नहरुको आयमा सुधार ल्याउने देखि स्वास्थ्य, शिक्षा, कृषिको विकास संगै यूग अनुकुलका अन्य विकासका काम गर्ने जोशीले प्रतिबद्धता जनाउनुभयो ।
प्रदेशसभा सदस्यका उम्मेदवार ऋषिकेश तिवारीले गाउँमा विकास गर्दै जाने तर घर खाली हुँदै जाने स्थितीको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । ‘ गाउँमा सडक आयो राम्रो कुरा हो,‘ तिवारीले भन्नुभयो,’ गरिवको चुलो बाल्न समस्या छ कि छैन । छोराछोरीले पढ्न पाएका छैन कि छैनन । गाउँमा वाहिरबाट खाद्यन्न देखि तरकारी आयात भैरहने मात्रै हो कि बजारमा गाउँको उत्पादन पुग्छ कि पुग्दैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले राजनीतिकर्मीले उत्पादनमुखी योजना बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । थापाठाना र कार्किनेटाबासी संगै पर्वत ‘ख’ का सबैले यसपालि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन तिवारीले आव्हान गर्नुभयो । कार्यक्रममा संविधानसभाका सदस्य गुणाखर बस्यालले गठबन्धनका उम्मेदवार लाई विजयी गराएर जिल्लाको विकास गर्ने संकल्प लिएर हिँडेको बताउनुभयो । उहाँले सबैलाई मतदानका लागि आव्हान पनि गर्नुभयो ।






