आज भाइटीका : मुख्य साइत ११ बजेर ३७ मिनेटमा - News site from Nepal
आज भाइटीका : मुख्य साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं : यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व।
पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको धर्मशास्त्री प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए। टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला आदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।

पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको जानकारी दिए। भाइटीकामध्याह्नकालमा गरिने विधानअनुसार यो साइत निकालिएको हो। यद्यपि दिनभर टीका लगाउन सकिने उनले बताए।

बिहीबार द्वितीया तिथि २० घडी १ पला अर्थात् दिउँसो २ बजेर १२ मिनेटसम्म छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!