पर्वत – गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २३ औं साधारणसभा तथा आठौ जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ । सोमवार एक कार्यक्रम विच कुश्मामा सो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिती पर्वतका संयोजक विष्णुराम वि.क.ले गैसस महासंघ नेपालले बदलिँदो परिवेशमा आफुलाई जिल्ला समन्वयको भुमिकामा उभ्याएर जिल्ला भर र पालिकाहरुमा समन्वयकारी भुमिकामा कार्य गर्नु पर्ने बताउनु भयो । गैसस अभियानले अस्तित्वका लागि आफ्नो भुमिकामा परिमार्जन गर्नु पर्ने उहाँको धारणा थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले नागरिक संगठनहरु गैरसरकारी संस्थाको भूमिकामा कानुनी नियमनमा हुने भए पनि नागरिक समाजको रुपमा भने स्वतन्त्र र राज्यको भुमिकालाई समालोचनात्मक रुपमा लिन सक्ने बताउनु भयो । उहाँले वर्तमान परिवेशलाई छिचोलेर गैससहरुले सामावेशी लोकतन्त्र र नगरिकहरुका आवश्यकताका लागि सहकार्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा गैसस महासंघ नेपालका पुर्व केन्द्रीय सदस्य चण्डीप्रसाद शर्मा पौडेलले परियोजनामुखी हुनुभन्दा आन्तरिक स्रोत व्यवस्थापन गर्ने र स्वयंसेवी भावनाको विकास गरेर कार्य गर्न सके गैससहरुले परिवर्तीत अवस्थामा पनि योगदान दिन सक्ने बताउनु भयो ।
गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष रमेशप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैससमहासंघका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, गैसस महासंघका गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र पौडेल, गैसस महासंघ नेपाल पर्वतका सल्लाहकार पुष्पराज पौडेल, मानवअधिकार संगठनका केन्द्रीय सदस्य हरिनारायण रेग्मी, जिल्ला अध्यक्ष माधव पौडेल, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ रामजी प्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख उदिमराज पौडेल, नागरिक समाज सञ्जालका संयोजक मानकुमारी गिरी, गैसस महासंघ पर्वतका उपाध्यक्ष रामचन्द्र सुवेदी लगाएतले जिल्लामा गैसस तथा नागरिक संगठनको अभियान तथा जिल्ला स्थित नगरिकहरुका विभिन्न सवालका विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा गैसस महासंघ नेपालका गण्डकी प्रदेश सचिव शिवप्रसाद शर्माले ‘‘गैसस महासंघको संस्थागत परिचयः पर्वतमा गैसस अभियानः हिजो आज र भोली विषयक’’ कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुतीमा गैसस महासंघ नेपालको संस्थागत परिचय, जिल्ला शाखा पर्वतको विगत देखि वर्तमान सम्मको भूमिका र सदस्य गैससहरुले जिल्लाको विकासमा गरेको योगदानको सचित्र विषय समावेश गरिएको थियो ।
यसै विच नागरिक समाज सञ्जाल पर्वतको नेतृत्व परिवर्तन एवं पद हस्तान्तरण गरिएको छ । वर्ष २०७९ का लागि गैसस महासंघ नेपाल पर्वतका पुर्व केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद पौडेललाई संयोजक मानकुमारी गिरीले पद हस्तान्तरण गर्नु भएको थियो ।






