दोविल्लामा रहेको पुल मर्मत गरिँदै, दोविल्ला -फलेवास सडक तीन साता बन्द हुने - News site from Nepal

पर्वत-जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ र ११ जोड्ने दोविल्ला पुल मर्मत गरिने भएको छ ।
लामो समयदेखि मर्मतको अभावमा अत्यन्तै जीणर् यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पवर्तले मंसिर २८ गते बुधवारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोविल्ला-फलेवास सडक बन्द गरिने भएको छ ।
सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाएको हो । यो पुलले कुश्मा नगरपालिकाका ६ वटा वडाका साथै फलेबास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्दै आएको छ । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यका अनुसार सवै पक्षको छलफलवाट पुल मर्मतका लागि मंसिर २८ गतेवाट पौष १९ गतेसम्म सडक बन्द गरिने भएको छ । उक्त समयमा बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट पुल निर्माण थालिएको हो । २०५६ मा ट्रयाक खुलेको दोबिल्ला-फलेबास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो । सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ । पुलमा बिछ्याइएका फलामे पाताको बढीमा ५ वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीय चित्रसागर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार दैनिक सयभन्दा धेरै सवारी ओहोरदोहोर गर्ने पुलमा दैनिकजसो सवारी फस्ने र दुर्घटना हुने जस्ता जोखिम बढेका छन् । दुवैतर्फ फलामका लठ्ठा तानेर बनाइएको पुलको भुइँमा फलामका पाता राखिएको छ । क्षमताभन्दा बढी भार भएका सवारीका कारण पाता धस्सिएका छन । साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता रहेको छ ।
पुल मर्मत सँगै सोहि स्थानमा अर्को मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन समेत भएको छ । सडक विभागले लामो दबाबपछि नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो । विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्नेगरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ । कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले अघिल्लो सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।
‘जीणर् पुलको विषयमा गम्भीरतासाथ कुरा राखिएको थियो,’ फलेबास नगरप्रमुख गंगाधर तिवारीले भन्नुभयो, ‘सम्भाव्यता अध्ययन भएको छ । चालु वर्षमै ठेक्का खुलाउने गरी कुरा अघि बढेको छ ।’ पुरानो पुलको उत्तरतर्फ सँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे प्राविधिकसँग कुराकानी भएको तिवारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!