पर्वतको फलेवासमा फागुन २२ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप प्रतियोगिता - News site from Nepal
 

पर्वत- पर्वतको फलेवास नगरपालिकामा यहीँ फागुन २२ गतेदेखि २४ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप प्रतियोगिता संचालन हुने भएको छ ।

फलेवास नगरपालिकाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन साथै कार्यक्रमको पुर्व तयारीका बिषयमा आज नगरपालिकामा सरोकारवालासंग छलफल गरिएको छ ।

छ्लफल कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले खेलको नियम पद्धति अनुसार ऐतिहासिक रुपमा यो बर्ष पनि कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो ।खेलाडी राष्ट्रका गहना भएकाले खेल र खेलाडीको विकासमा नगरपालिकाले विशेष जोड दिएको बताउदै कार्यक्रममा सहभागी हुने बिद्यार्थी तथा खेलाडी अनुशासित र मर्यादित हुनुपर्ने उहाँले बताउनुभयो ।

नगरमा आयोजना हुने बिशेष ठुला कार्यक्रम र राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप प्रतियोगिता हरेक बर्ष नगरका सबै वार्डलाई अपनत्व हुने गरि वार्डहरुलाई अन्तर घुलन गराउन ११ वटै वार्डमा क्रमशः संचालन गर्ने नगरप्रमुख शर्माले बताउनुभयो । सबै बिद्यालयलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै प्रतियोगितालाई विवाद रहित, व्यवस्थित तरिकाले सभ्य र भव्य बनाउन सबै समितिहरुले सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा शर्माले जोड दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति बनाइएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनता माबिका प्रअ गोपाल प्रसाद श्रेष्ठ र मेयर कपको संयोजक नारायण कुमार प्रधान र जुरिमा किरण श्रेष्ठ संयोजक चयन हुनुभएको छ ।
भौतिक पुर्वाधार खेलमैदान व्यवस्थापनमा वार्ड नं. १, २,३ र ९ का वार्ड अध्यक्षहरु बाबुराम शर्मा, गंगानारायण श्रेष्ठ, अर्जुन बहादुर केसि र गंगाधर शर्मा र कार्यपालिका सदस्य शेर बहादुर सुनार रहनुभएको छ ।

कार्यक्रममा फर्जी खेलाडी समावेश गराउन नपाइने, १८ बर्ष मुनिको कक्षा १० सम्म रेगुलर अध्ययन गरेको विद्यार्थी हुनुपर्ने, माच पास छोटो गर्नुपर्ने, खेल व्यवस्थापन गर्नुपर्ने, जुनसुकै खेल समाप्त भए लगत्तै खेलाडीलाई ट्रफी प्रदान गरिने, खेलाडीलाई जर्सी व्यवस्थापन गरिने, फागुन २१ गते सम्म सबै बिधाका खेलको फार्म भर्नुपर्ने, प्रत्येक खेलमा १ जना मात्र बिद्यार्थी हुनुपर्ने, खेलाडीलाई यातायातको व्यवस्थापन गरिने लगायतका बिषयमा छलफल गरिएको छ।

कार्यक्रममा नगरपालिका भित्रका माध्यमिक बिद्यालयहरुबिच विभिन्न खेलकुद प्रतियोगिता, भलिबल, फुटबल, एथलेटिक्सका खेलहरु, तेक्वान्दो लगायतका कार्यक्रम संचालन हुने नगरपालिकाले जनाएको छ ।गत बर्ष देविस्थान माझिचौरमा संचालन भएको उक्त कार्यक्रम यस पटक फलेवास १ कार्किनेटा स्थित मनमोहन सान्ती बाटिकामा संचालन हुने भएको छ । त्यस्तै मेयर कप अन्तर्गत भलिबल खेल थापाठाना माबि र फुटबल राम माबिमा संचालन हुने भएको छ ।
छ्लफल कार्यक्रममा वार्ड अध्यक्षहरु, नगरका कर्मचारी, नगरका १५ वटा माबिका प्रअ तथा बिद्यालयका शिक्षक प्रतिनिधि, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!