काठमाडौं- बजेटको सैद्धान्तिक छलफल नै नगराई नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको तयारी प्रति आपत्ति जनाएको छ ।
सरकार सदन र जनप्रतिनिधिलाई अवमूल्यन गर्न अग्रसर रहेको भन्दै कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने जनाएको छ । वैशाख १६, २०७६ संघीय संसदको चौंथो अधिवेशन आज सुरु हुँदैछ । बजेट अधिवेशनको नामले समेत परिचित अधिवेशनबाट सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्नुका साथै वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्नेछ ।
दुबै सदनको बैठक अपरान्ह चार बजेका लागि बोलाईएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएको पत्र पढेर सुनाउने कार्यसूची छ । पहिलो सत्रमा सत्तारुढ तथा प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना छ ।
दोस्रो सत्रमा संसदको तेस्रो अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका सांसद तथा पूर्व सांसदहरु प्रति शोक प्रस्ताव पारित हुने संघीय संसद सचिवालयले जनाएको छ । पूर्व सांसद एवं उद्योगी दिवाकर गोल्छाको चैत २६ गते, पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको चैत २८ गते तथा पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको बैशाख १० गते निधन भएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आयव्ययको अनुमानित बजेट प्रस्तुत गर्नेछ ।
बजेटपूर्व सरकारले आफ्ना प्राथमिकता समेटेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । सोही नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट तयार गर्ने परम्परा छ । बजेटको सैद्धान्तिक छलफल नै नगराई नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको तयारी प्रति आपत्ति जनाएको छ । सरकार सदन र जनप्रतिनिधिलाई अवमूल्यन गर्न अग्रसर रहेको भन्दै कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने जनाएको छ ।
राष्ट्रपति भण्डारीले आगामी शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयो ।






