पर्वत – सार्वजनिक शिक्षाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल, पर्वतले स्थानीय विद्यालयमा अध्ययन गर्ने २ जना बालबालिकाको शैक्षिक अभिभावकत्व लिएको छ ।
एनसिई नेपाल पर्वतले कुश्मा नगरपालिका वडा नं. ५ स्थित बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ का बिनिता नेपाली र कक्षा ३ का साजन माझीको संस्थागत अभिभावकत्व लिएको हो । ती बालबालिकाको अभिभावकत्व लिएको एनसिई नेपाल पर्वतले आज एक कार्यक्रमका बीच बालबालिकाहरुलाई झोला, पोशाक, स्टेशनरी सामग्री तथा सरसफाई सामग्री उपलब्ध गराएको छ ।
अभिभावकत्व ग्रहण तथा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्माले शिक्षा नै सबैखाले विकासको मेरुदण्ड भएकाले शिक्षाक्षेत्रमा सुधार गर्न सबै सजग भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले श्रमिक बालबालिकाले पढ्ने विद्यालय र कमजोर आर्थिक अवस्था भएका बालबालिका छनोट गरी अभिभावकत्व लिएकोमा एनसिई नेपाल पर्वतलाई स्थानीय सरकारको तर्फबाट धन्यवाद दिनुभयो । यसै गरी उक्त कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरशिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले शिक्षा पाउनु सबैको अधिकार भएकाले कठिन अवस्थामा रहेका बालबालिकालाई विद्यालय भर्ना गर्ने र उनीहरुले बिना बाधाव्यवधान पढ्न पाउने वातावरण सुनिश्चित गर्न यस्ता सहयोगले ठूलो महत्व राख्ने कुरा बताउनुभयो । उहाँले अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई यस्ता पुनित कार्यमा सरिक हुन आव्हानसमेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला बाल संगठनका सभापती तथा बालमन्दिर प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले आफ्नो नेतृत्वमा विद्यालयको सुधार अभियान चलिरहेको अवस्थामा एनसिई नेपालजस्ता सहयोगी संस्थाहरुको साथ पाउँदा खुशी लागेको अनुभव सुनाउनुभयो । उक्र कार्यक्रममा एनसिई नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीले प्रारम्भिक चरणमा रु. १ लाख बीस हजारको अक्षयकोष स्थापना गरेर बालमन्दिर प्राविका २ जना बालबालिकालाई सहयोग उपलब्ध गराइएको र यो सहयोग उनीहरुलाई दश कक्षा अध्ययन गर्ने समयसम्म उपलब्ध गराउने संस्थागत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा एनसिई नेपाल जिल्ला समन्वय समिति पर्वतका सदस्य–सचिव यज्ञप्रसाद शर्माले एनसिई नेपालको अभियान, विश्वव्यापी कार्यसप्ताह र विद्यार्थी भर्ना अभियानका बारेमा चर्चा गर्नुभएको थियो । अभिभावकत्व ग्रहण तथा सामग्री हस्तान्तरण कार्यक्रममा एनसिई नेपाल पर्वतका सदस्यहरु जगन्नाथ शर्मा, भिमबहादुर नेपाली, एकनारायण चालिसे, बलिनारायण रेग्मी, ऋषिराम भुसाल, रमेशप्रसाद रिजाल, विद्यालयका प्रअ लोकबहादुर राना, सञ्चारकर्मी सन्तोष थापा, सञ्जय रेग्मी, बालबालिकाका अभिभावक अर्जुन नेपाली र गंगा माझीसहित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।






