पर्वत– पर्वत जिल्लाको महाशीला गाउँपालिका वडा नं. १ मा रहेको ऐतिहाँसिक पैयुँकोट दरबार र वडा नं. ५ मा रहेको चिसापानी लेकको विकासका लागि डिपीआर गरिएको छ ।
महाशीलालाई उत्कृष्ट धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले महाशीला गाउँपालिकाको सहयोगमा विस्तृत योजना निर्माण गरिएको हो । यस क्षेत्रको विकासका लागि पर्वतका महाशीला गाउँपालिका र पैयुँ गाउँपालिकाले चासो देखाउँदै आएका छन् । उक्त क्षेत्रको विकासका लागि दुवै गाउँपालिका हुवासदेखि पैंयुकोट सम्म केवुलकार सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ ।
पैयुँकोट ऐतिहाँसिक क्षेत्र भएर पनि ओझेलमा रहेको हुँदा केवलकार सञ्चालन गर्ने योजना अघि सारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । महाशीला गाउँपालिकाको पर्यटकीय गुरुयोजना निर्माण अन्तर्गत दुई स्थानको योजना बनाईएको हो । यस अघि महाशीलाको पनि गुरुयोजना बनाएर काम थालिएको छ । ऐतिहासिक स्थल भएर पनि विकट ठाउँमा भएका कारण ओझेलमा परेको भन्दै ठकुरीले यसको विकासका लागि काम डिपिआर बनाएर शुरुवात गरिएको बताउनुभयो ।
गत वर्ष पैंयु गाउँपलिकाको हुवासबजारबाट पैंयुकोट सम्म केवुलकार सञ्चालन गर्न संभाव्यता अध्ययन गर्न दुबै गाउँपालिकाले बजेट बिनियोजन गरेका थिए । ‘पैयुँकोट सम्म केवुलकार चलाउन सके पैयुँकोटमा विकासको ढोका खोलिने देखिन्छ’ महाशीलाका अध्यक्ष राजुप्राद पौडेलले भने,‘ पैयुँकोटको विकासका लागि दुबै गाउँपालिका जुटेर काम थालिएको हो ।’ समुन्द्री सतहबाट करिव १ हजार ३ सय मिटर उचाईमा रहेको पैयुँकोटमा केवलुकार संगै प्याराग्लाईडिङ उडानको पनि सम्भावना रहेको छ ।
प्याराग्लाईडिङ उडान गर्ने विषयमा यसअघि तयारी गरिएपनि समन्वय गर्ने निकायको अभावमा उक्त योजना छलफलमा मात्रै सिमित थियो । प्याराग्लाईडिङका लागि यो क्षेत्र उपयुक्त रहेको छ । महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल, उपाध्यक्ष हिरा राना, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ सहित दुबै गाउँपालिकाका अध्यक्षहरुको संयुक्त वैठक बसेर केवुलकार र प्याराग्लाइडिङ सञ्चालन गर्न डिपिआर तयार पार्न समिति गठन भएको थियो ।
पैयुँकोटमा सेन बंशीय राजाहरुले शासन गरेका थिए । पहिले चारपाला भन्ने मगरहरुको राज्य रहेको किवंदंती छ । भदौरे, सितौरे, राना लगायतका राजाहरुका विचमा द्धन्द भएपछि १६ औँ शताव्दी तिर सेन वंशका राजाले शासन शुरु गरेको पाइएको छ ।
पैयुँकोटमा सेन राजाले बनाएको दरवारको अहिले भग्नावशेष अवस्था छ । युद्धमा प्रयोग गरेका ,राजाले प्रयोग गरेको पोखरी, सुनधुने पोखरी, किल्लाहरु समेत अहिले पनि यहाँ देख्न सकिन्छ । त्रिबेणीमा फुलवारी दरबार अहिले पनि छ । पैयुँकोटमा गर्मी मौसममा राजा बस्न गरेको र जाडो मौसममा त्रिवेणी स्थित फुलवारीमा बस्दै आएको विभिन्न समयमा लेखिएका अभिलेखहरुमा पढ्न सकिन्छ । पैयुँकोट, दरौकोट, विहादी कोट र पुर्कोट चौविसे राजाहरुको शक्तिशाली राज्यको रुपमा रहेका थिए । यो सँगै महाशीला गाउँपालिकाले प्रसिद्ध चिसापानी क्षेत्रको पनि डिपीआर गरेको प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।






