पर्वत – उपभोक्ताले औषधी व्यवसाय तथा मेडिकल तथा नीजि हस्पिटलहरुबाट ठगिएको भन्दै गुनासो गरेपछि जिल्ला स्तरीय अनुगमन समितिले पर्वतको कुश्मा बजार भित्र सञ्चालन भएका औषधी पसल, मेडिकल तथा नीजि अस्पतालहरुको अनुगमन गरेको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको नेतृत्वमा उद्योग व्यवसायी, सञ्चारकर्मी, उपभोक्ता अधिकारकर्मी लगायतको सहभागितामा अनुगमन भएको हो ।
अनुगमनका क्रममा विगतमा भन्दा पर्वत सदरमुकाम कुश्मा बजार भित्रको औषधी व्यवसाय सुधारोन्मुख देखिएको अनुगमन टोलीका सदस्य प्रभात लामिछानेले बताउनुभयो । पर्वतमा नयाँ सञ्चालनमा आएका कुश्मा हस्पिटल प्रालि र शान्ति दिप हस्पिटल प्रालिले नगरपालिकाबाट लिनु पर्ने प्रयोगशाला स्वीकृति नलिएको पाइएको थियो भने अनुगमन गरिएका १५ मेडिकल हल तथा हस्पिटलका अन्य व्यवसायिक कागजातहरु दुरुस्त राखेको पाइएको छ ।
अनुगमनकै क्रममा सुनगाभा फार्मेसीले चिकित्सकको अनुमतिमा नार्कोटेक ग्रुप अन्तरगतका औषधीहरु विक्रि वितरण गर्दै आएको बताएपनि उक्त तथ्याङ्क नराखेको समेत पाइएकाले अनुगमन टोलीले तत्काल रेकर्ड राख्न निर्देशन समेत दिएको छ ।
पर्वतमा सञ्चालित अधिकांश मेडिकल हल तथा फार्मेसीहरुले नार्कोटेक अन्तर्गतका औषधीहरु चिकित्सकहरुको अनुमति अनुसार विक्रि वितरण गर्दै आएका छन् । चिकित्सकको अनुमति विना र रेकर्ड नराखि औषधी विक्रि वितरण गरेको पाइएमा तत्काल कार्बाही गरिने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले कानुन विपरित औषधी विक्रि वितरण नगर्न निर्देशन दिनुभएको थियो ।
केही औषधी पसलहरुमा औषधीमा तोकिएको मितिको समयाबधि सकिनै लागेको भेटिएकाले औषधी व्यवसायएहरुलाई व्यवसायको संवेदशीलतालाई ध्यानमा राखेर विक्रि वितरण गर्न टोलीले निर्देशन समेत दिएको छ । कागजात नपुगेका व्यवसायीहरुलाई सात दिनको समयावधि दिएर उपलब्ध गराउन निर्देशन दिइएको टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिनुभयो ।






