पर्वतको मालढुंगा –बेनी सडक आजदेखि दैनिक साढे आठ घण्टा बन्द - News site from Nepal

पर्वत– म्याग्दी र मुस्ताङ्गलाई राजमार्ग संग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ ।
पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्बपक्षिय बैठकले कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग (एङ्गर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुंगा – बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको छ ।
कार्यालयका अनुसार भदौ ५ गते बिहीबारदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको दमुवाखोलासम्म सडक बन्द हुनेछ ।
‘निर्माण ब्यबसायीले सडकमा संभावित जोखिम न्युनीकरण गर्न बन्द गर्नुपर्ने माग गरेपछि सर्बपक्षिय बैठकबाट सडक बन्द गर्ने निर्णय भएको हो’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भन्नुभयो ‘काम नसकिएको अबस्थामा तीज लगायतका पर्व पछि पनि सडक बन्द हुनेछ ।’
दैनिक ८ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । साना र हल्का सवारी साधनहरु पर्वतको सहस्रधाराबाट पाङ्ग हुँदै दमुवाखोला सम्मको बैकल्पिक सडक समेत प्रयोग गर्न सकिने छ ।
यो सडकको धेरै भाग कच्ची भएका कारण ठुला सवारी साधनहरु चल्न सक्दैनन । छलफलमा सहभागी यातयात ब्यबसायीहरुले दिउँसोको समयमा एक घण्टा सडक खोल्नु पर्ने र मध्य पहाडी लोकमार्गको पर्वत खण्डमा स्तरउन्नतीका क्रममा बनेका ठुला ठुला खाडलहरु पुरेर सडकमा सहज आवगमन हुने ब्यबस्था मिलाउन समेत आग्रह गरेका थिए ।
यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य सघं, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले पनि सडक बन्द गर्ने निर्णय गरेको थियो ।
हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!